

काठमाडौं – नर्स बनेर बिरामीको सेवा गर्ने, चार भाइबहिनीलाई पढाउने र परिवारको आर्थिक अवस्था सुधार्ने सपना बोकेर रसुवा पुगेकी डोल्पा मुड्केचुला गाउँपालिका–१ की २४ वर्षीया दिनिशा शाही अहिले परिवारका लागि कहिल्यै नसकिने पर्खाइ बनेकी छन्।
डोल्पाको विकट गाउँमा जन्मिएकी दिनिशा परिवारकी जेठी छोरी हुन्। बुबा पृथीबहादुर र आमा विष्णुकुमारीका लागि छोरीले पढेर परिवारको आर्थिक अवस्था सुधार्छिन् भन्ने ठूलो आशा थियो। अभावका बीच पढाइ पूरा गरेकी दिनिशाले स्टाफ नर्सको अध्ययन सकेपछि अवसर खोज्दै रसुवा पुगेकी थिइन्।
उनी गोसाइँकुण्ड गाउँपालिकाअन्तर्गत चिलिमेको सल्लेढुङ्गा स्वास्थ्य एकाइमा करार सेवामा कार्यरत थिइन्। घरबाट टाढा भए पनि बिरामीको सेवा गर्दै परिवारको भविष्य बनाउने उनको सपना अघि बढिरहेको थियो।
तर, गत भदौ ९ गते भोटेकोशीमा आएको विनाशकारी बाढीले उनको जीवन नै बदलिदियो।
बाढी आउनुभन्दा करिब १० मिनेटअघि दिनिशाले स्वास्थ्य एकाइमा रहेका सहकर्मीलाई सतर्क गराएकी थिइन्। ‘भागौँ, भागौँ ! बाढी आयो !’ भन्दै उनले सहकर्मीलाई सुरक्षित स्थानतर्फ पठाइन्। तीन जना सहकर्मी डाँडातर्फ पुगेर ज्यान जोगाउन सफल भए। तर, भागदौडका क्रममा दिनिशा भने गलत दिशातर्फ पुगिन् र सहकर्मीहरूकै आँखाअगाडि लेदोसहितको बाढीले उनलाई बगाएर लग्यो।
त्यसयता दिनिशाको कुनै खबर छैन।
उनका आफन्त घटना भएको भोलिपल्टै रसुवा पुगेर सम्भावित स्थानमा खोजीमा जुटे। काठमाडौंका टिचिङ अस्पताल, वीर अस्पताल, ट्रमा सेन्टर र भक्तपुर अस्पतालका शवगृहसम्म पुगेर अपरिचित शवसमेत हेरे। तर, दिनिशा भेटिइनन्।
अहिले केही अपरिचित शवको पहिचानका लागि परिवारले डीएनए परीक्षणका लागि नमुना दिएका छन्। रिपोर्टको प्रतीक्षामा रहेका आफन्तहरू कुनै ठोस प्रमाण नपाएसम्म दिनिशालाई मृत स्वीकार्न सक्ने अवस्थामा छैनन्।
डोल्पामा रहेका उनका आमाबुबा र चार भाइबहिनी अझै दिनिशा फर्किने खबरको प्रतीक्षामा छन्। परिवारको आर्थिक अवस्था बदल्ने र भाइबहिनीको भविष्य बनाउने सपना बोकेर घरबाट टाढा पुगेकी दिनिशाको आफ्नै भविष्य भने अहिले भोटेकोशीको बाढीमा हराएको छ।



