

काठमाडौँ- नेपाल चिकित्सक संघले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान जनकपुरमा कार्यरत आजीवन सदस्य डा. सरोज साहमाथि भएको सांघातिक आक्रमणको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
संघले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त अमानवीय तथा निन्दनीय कार्यको घोर भत्सर्ना गरेको हो।
बिहीबार कार्यथलोमा ड्युटीमा रहेकै अवस्थामा डा. साहमाथि बिरामीका आफन्त लगायतको समूहले सांघातिक आक्रमण गरेको थियो। देशका विभिन्न स्थानमा स्वास्थ्य सेवामा निरन्तर समर्पित चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले पटक-पटक यस्ता आपराधिक घटना व्यहोर्नुपरेको विज्ञप्तिमा उल्लेख छ। यस्ता गतिविधिले चिकित्सकहरूको पेशागत सुरक्षा र आत्मसम्मानमा गम्भीर आघात पुऱ्याएको संघले जनाएको छ।
घटनाका सन्दर्भमा टिप्पणी गर्दै संघले भनेको छ, ‘समग्र स्वास्थ्य क्षेत्रलाई आतंकित पार्ने गरी घटाइएको यस्तो अमानवीय घटनामा संलग्न दोषीहरूलाई अविलम्ब कानूनको दायरामा ल्याउनुपर्छ।’
संघका महासचिव डा. विश्व राज दवाडी र अध्यक्ष डा. बद्री रिजालद्वारा हस्ताक्षरित विज्ञप्तिमा थप जोड दिइएको छ, ‘दोषीहरूलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ (पहिलो संशोधन, २०७९) बमोजिम कडा कारबाही गर्न सम्बन्धित निकायसँग जोडदार माग गरिन्छ।’



