

काठमाडौँ- नेपालमा हुने कुल मृत्युमध्ये ७१ प्रतिशतभन्दा बढी मृत्यु नसर्ने दीर्घरोगका कारण हुने गरेको स्वास्थ्य सेवा विभागले जनाएको छ। मुटुरोग, क्यान्सर, दम र मधुमेहजस्ता नसर्ने रोगको जोखिम बढ्दै गएको भन्दै विभागले सुरक्षित उपचार र निरन्तर स्वास्थ्य सेवामा जोड दिएको हो।
विश्व बिरामी सुरक्षा दिवस २०२६ को अवसरमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र स्वास्थ्य सेवा विभागले जारी गरेको प्रेस विज्ञप्तिमा नसर्ने रोगको व्यवस्थापनमा बिरामीको सुरक्षा सुनिश्चित गर्न सुरक्षित चिकित्सा प्रणाली र निरन्तर निगरानी आवश्यक रहेको उल्लेख गरिएको छ। यस वर्षको दिवसको नारा ‘सुरक्षित उपचार र निरन्तर हेरचाह, नसर्ने रोग व्यवस्थापनको बलियो आधार’ रहेको छ।
विभागका अनुसार विश्वभर हुने कुल मृत्युमध्ये करिब ७५ प्रतिशत मृत्यु मुटुरोग, क्यान्सर, दम र मधुमेहजस्ता नसर्ने दीर्घरोगका कारण हुने गरेका छन्। ७० वर्षको उमेर पुग्नुअघि हुने अकाल मृत्युमध्ये ८२ प्रतिशत मृत्यु न्यून तथा मध्यम आय भएका देशमा हुने गरेको विज्ञप्तिमा उल्लेख छ।
नेपालमा नसर्ने रोग बढ्नुका प्रमुख कारणमा बदलिँदो जीवनशैली, अस्वस्थ खानपान, शारीरिक निष्क्रियता, मानसिक तनाव, तीव्र शहरीकरण, प्रदूषण तथा सुर्तीजन्य पदार्थ र मदिराको सेवनलाई औँल्याइएको छ।
यसैबीच, पछिल्लो समय नेपालले सामना गरेको स्वास्थ्य आपत्कालीन अवस्थाले बिरामी सुरक्षाको चुनौती थप बढाएको विभागले जनाएको छ। विशेषगरी भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण रसुवा र नुवाकोटलगायत जिल्लामा स्वास्थ्य पूर्वाधार तथा सेवा प्रवाहमा गम्भीर अवरोध सिर्जना भएको विज्ञप्तिमा उल्लेख छ।
विपद्का समयमा बिरामी सुरक्षालाई अस्पतालभित्रको सेवामा मात्र सीमित नराखी समुदायदेखि स्वास्थ्य संस्थासम्म सुरक्षित, गुणस्तरीय र निरन्तर स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्ने आवश्यकता विभागले औँल्याएको छ।
आपत्कालीन अवस्थामा औषधिको निरन्तर उपलब्धता, सही निदान, सुरक्षित उपचार, संक्रमण रोकथाम, स्वास्थ्य अभिलेखको निरन्तरता तथा सुरक्षित प्रेषण प्रणाली सुनिश्चित गर्न सरकार सक्रिय रहेको विभागले जनाएको छ।
त्यस्तै, नसर्ने रोग भएका बिरामीहरू नियमित औषधि तथा फलोअप सेवाबाट वञ्चित हुन नदिन विपद् व्यवस्थापन योजनालाई स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले उच्च प्राथमिकतामा राखेको जनाएको छ।
स्वास्थ्य संस्थाहरूलाई विपद् सामना गर्न सक्ने गरी सक्षम बनाउनु, अत्यावश्यक औषधिको निरन्तर उपलब्धताका लागि पूर्वतयारी गर्नु तथा स्थानीय तहदेखि संघीय तहसम्म स्वास्थ्य समन्वयलाई थप मजबुत बनाउनुपर्नेमा विभागले जोड दिएको छ।
सुरक्षित र निरन्तर स्वास्थ्य सेवा पाउनु नागरिकको अधिकार भएको उल्लेख गर्दै विभागले स्वास्थ्यकर्मी, बिरामी, परिवार, स्थानीय तह तथा साझेदार संस्थाहरूलाई बिरामी सुरक्षालाई उच्च प्राथमिकतामा राख्न आह्वान गरेको छ। विभागले ‘सुरक्षित स्वास्थ्य सेवा, सबैको साझा जिम्मेवारी’ भन्ने भावनाका साथ विश्व बिरामी सुरक्षा दिवसको अभियानमा ऐक्यबद्धता जनाउन आग्रह गरेको छ।



