

काठमाडौँ – सघन उपचार कक्ष (आईसीयू), आकस्मिक तथा अन्य संवेदनशील स्वास्थ्य सेवा क्षेत्रमा बिरामीको अनुमति र स्वास्थ्य संस्थाको स्वीकृतिबिना फोटो तथा भिडियो खिच्ने र अन्तर्वार्ता लिने कार्य नगर्न पाँचवटा स्वास्थ्य व्यवसायी परिषद्ले आग्रह गरेका छन्।
नेपाल मेडिकल काउन्सिल, नेपाल नर्सिङ परिषद्, नेपाल आयुर्वेद चिकित्सा परिषद्, नेपाल स्वास्थ्य व्यवसायी परिषद् र नेपाल फार्मेसी परिषद्ले मंगलबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै बिरामीको गोपनीयता, स्वायत्तता, मर्यादा र सुरक्षालाई प्राथमिकतामा राख्न आग्रह गरेका हुन्।
परिषद्हरूले स्वास्थ्य संस्थाको पूर्वस्वीकृतिबिना आईसीयू, आकस्मिक कक्ष, शल्यक्रिया कक्ष, प्रसूति कक्ष तथा मानसिक स्वास्थ्य सेवा कक्षजस्ता संवेदनशील क्षेत्रमा प्रवेश नगर्न र त्यहाँ कुनै पनि श्रव्यदृश्य सामग्री रेकर्ड नगर्न वा नगराउन आग्रह गरेका छन्।
विशेषगरी गम्भीर दुर्घटना वा आकस्मिक अवस्थाबाट उद्धार गरी उपचाररत बिरामीको कमजोर अवस्थालाई प्रचार वा व्यक्तिगत अनुभवका लागि प्रयोग गर्ने गरी अन्तर्वार्ता लिने तथा भिडियो बनाउने कार्यले उनीहरूको मानसिक र शारीरिक स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्ने परिषद्हरूले बताएका छन्।
काउन्सिलहरूले अन्तर्वार्ता वा सञ्चारका लागि बिरामीसँग सम्पर्क आवश्यक भएमा बिरामीको स्पष्ट सहमति लिनुपर्ने बताएका छन्। बिरामीले सहमति दिन नसक्ने अवस्थामा अभिभावक वा कानुनी संरक्षकको अनुमति र सम्बन्धित अस्पतालको संस्थागत स्वीकृति लिएपछि मात्र उपयुक्त स्थानमा पहुँच दिनुपर्ने उनीहरूको भनाइ छ।
आईसीयू तथा अन्य संवेदनशील उपचार कक्षलाई प्रचार वा भिडियो निर्माणको स्थल नबनाई संवादका लागि अस्पताल परिसरमै सुरक्षित वैकल्पिक स्थानको व्यवस्था गर्न पनि परिषद्हरूले सुझाव दिएका छन्।
त्यस्तै, अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई सञ्चारमाध्यम वा अन्य व्यक्तिको प्रवेश, फोटो–भिडियो खिच्ने र रेकर्डिङ गर्ने विषयमा स्पष्ट नीति तथा प्रोटोकल बनाएर कडाइका साथ कार्यान्वयन गर्न भनिएको छ।
परिषद्हरूले सञ्चारकर्मी, सर्वसाधारण, सामाजिक संघसंस्था तथा अन्य सरोकारवालालाई बिरामीको पीडा र असहाय अवस्थालाई प्रचारको विषय नबनाई उपचारको मानवीय मर्यादा, गोपनीयता र सुरक्षाको सम्मान गर्न आग्रह गरेका छन्।




