

काठमाडौं – वरिष्ठ कार्डियोलोजिस्ट डा. स्मृति शाक्यले विश्वमा उपलब्ध अत्याधुनिक मुटु उपचार प्रविधि अब नेपालमै सम्भव रहेको जानकारी आम नागरिकसम्म पुर्याउन आवश्यक रहेको बताएकी छन्।
इजरायलबाट स्ट्रक्चरल कार्डियाक इन्टरभेन्सनसम्बन्धी फेलोसिप पूरा गरेर हालै नेपाल फर्किएकी डा. शाक्यले नेपालमै विश्वस्तरीय उपचार सेवा उपलब्ध गराउन अत्याधुनिक उपकरण, प्रविधि तथा आवश्यक स्रोत–साधनको उचित व्यवस्थापनमा जोड दिएकी छन्।
करिब सात वर्षदेखि महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा इन्टरभेन्सनल कार्डियोलोजिस्टका रूपमा कार्यरत शाक्यले विश्वमा उपलब्ध अत्याधुनिक प्रविधिबाट मुटुरोगीको उपचार गर्न नेपालमा दक्ष जनशक्ति रहेको बताइन्।
‘इजरायलबाट भर्खरै स्ट्रक्चरल हार्ट इन्टरभेन्सनसम्बन्धी आधुनिक प्रविधिमा फेलोसिप पूरा गरी नेपाल फर्किएकी छु,’ उनले भनिन्, ‘अहिले म मनमोहन सेन्टरमा कार्यरत भएकाले यहाँ यस्तो अत्याधुनिक उपचार सेवा सञ्चालन गर्न आवश्यक तयारी र व्यवस्थापनका लागि आफ्नो तर्फबाट पहल गर्नेछु।’
शाक्यका अनुसार स्ट्रक्चरल कार्डियाक इन्टरभेन्सन मुटुको ठूलो शल्यक्रिया नगरी मुटुका भल्भ तथा अन्य संरचनागत समस्याको उपचार गर्ने आधुनिक विधि हो। मनमोहन सेन्टरमा यस्तो उपचार आवश्यक पर्ने बिरामी आएमा र उपचारका लागि उपयुक्त देखिएमा विश्वस्तरीय सेवा नेपालमै उपलब्ध गराउने प्रयासमा आफू निरन्तर लाग्ने उनले बताइन्।
‘मेरो चाहना भनेको नेपाली बिरामीले अत्याधुनिक उपचारका लागि विदेश जानुपर्ने बाध्यता कम होस् र विश्वमा उपलब्ध नयाँ प्रविधिको लाभ नेपालमै बसेर लिन सकून् भन्ने हो। त्यसैले अब यस्तो उपचारका लागि विदेश जानुपर्ने बाध्यताको अन्त्य हुनेछ,’ उनले भनिन्।
उनका अनुसार पछिल्ला केही वर्षमा कार्डियोलोजी क्षेत्रमा स्ट्रक्चरल कार्डियाक डिजिज तथा स्ट्रक्चरल कार्डियाक इन्टरभेन्सनसम्बन्धी अत्याधुनिक प्रविधि र उपचार विधिको तीव्र विकास भइरहेको छ। विशेषगरी ट्रान्सक्याथेटर एओर्टिक भल्भ इम्प्लान्टेसन (टाभी) लगायतका प्रविधिले जटिल हृदय रोगको उपचारमा नयाँ सम्भावना सिर्जना गरेको छ।
यिनै अत्याधुनिक प्रविधि र उपचार पद्धतिबारे थप विशेषज्ञ ज्ञान तथा व्यावहारिक सीप हासिल गर्ने उद्देश्यले विश्वस्तरमै प्रतिष्ठित तथा अत्याधुनिक चिकित्सा प्रविधिका लागि परिचित शेबा मेडिकल सेन्टरमा अध्ययन गर्ने अवसर पाएको उनले बताइन्। त्यहाँ टाभी, ट्रान्सक्याथेटर एज–टु–एज रिपेयर (टिइइआर) लगायतका अत्याधुनिक कार्डियाक इन्टरभेन्सन प्रविधिबारे थप गहिरो ज्ञान र व्यावहारिक अनुभव हासिल गरेको उनको भनाइ छ।
उमेर बढ्दै जाँदा वा अन्य स्वास्थ्य समस्याका कारण मुटुका भल्भ साँघुरिने वा चुहिने जस्ता जटिलता देखिन सक्छन्। धेरैजसो अवस्थामा उमेर, अन्य जटिल रोग वा शल्यक्रियाको उच्च जोखिमका कारण बिरामीहरू मुटुको चीरफार गरेर गरिने शल्यक्रियाका लागि उपयुक्त नहुन सक्छन्। यस्तो अवस्थामा स्ट्रक्चरल कार्डियाक इन्टरभेन्सन प्रभावकारी उपचार विधि हुने शाक्यले बताइन्।
‘यस विधिमार्फत छाती नचिरिकन तिघ्राको नसाबाट सानो पाइप पठाएर मुटुको बिग्रिएको भल्भ मर्मत गर्न वा नयाँ भल्भ फेर्न सकिन्छ,’ उनले भनिन्, ‘छोटो शब्दमा भन्नुपर्दा, बिनाशल्यक्रिया मुटुको भल्भ तथा संरचनागत समस्याको सफल उपचार गर्ने विधि नै स्ट्रक्चरल कार्डियाक इन्टरभेन्सन हो।’
शाक्यले युद्धको चरम अवस्थाका बाबजुद जोखिम मोलेर अध्ययनका लागि इजरायल गएको बताइन्। उनका अनुसार उक्त फेलोसिप व्यक्तिगत करियर विकासका लागि मात्र नभई नेपालमा विश्वस्तरका नयाँ प्रविधि र उपचार पद्धति भित्र्याउने, नेपाली बिरामीलाई अत्याधुनिक उपचारको पहुँच दिलाउने र नेपालको कार्डियोलोजी सेवाको स्तरलाई थप उकास्ने उद्देश्यले पूरा गरिएको हो।
नेपाल फर्किएपछि आफूले हासिल गरेको ज्ञान र सीपलाई नेपालमै अत्याधुनिक मुटु उपचार सेवा विस्तार गर्न प्रयोग गर्ने उद्देश्यले ठूलो जोखिम मोलेर पनि फेलोसिप पूरा गर्ने निर्णय गरेको उनले बताइन्।



