

काठमाडौं – साउदी अरबमा वैदेशिक रोजगारीका लागि जाने नेपाली श्रमिकको मेडिकल परीक्षण र बायोमेट्रिक प्रक्रियामा सीमित संस्थाको एकाधिकार रहेको भन्दै म्यानपावर व्यवसायीले विरोध जनाएका छन्। प्रक्रियालाई सहज बनाउन तथा श्रमिकमाथि थप आर्थिक भार नपर्ने व्यवस्था गर्न उनीहरूले सरकारसँग माग गरेका छन्।
स्वास्थ्य मन्त्रालयबाट सूचीकृत सबै स्वास्थ्य संस्थाले साउदी जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्न पाउने व्यवस्था हुनुपर्ने व्यवसायीहरूको माग छ। बायोमेट्रिक प्रक्रियासमेत सहज र पारदर्शी बनाउनुपर्ने उनीहरूको भनाइ छ। तर, साउदी अरबको दूतावासको आफ्नै नीतिका कारण सीमित मेडिकल सेन्टरबाट मात्रै स्वास्थ्य परीक्षण गर्नुपर्ने अवस्था रहेको उनीहरूको दाबी छ।
यसको प्रत्यक्ष असर वैदेशिक रोजगारीमा जाने श्रमिकमाथि परेको व्यवसायीहरू बताउँछन्। देशका दुर्गम क्षेत्रबाट स्वास्थ्य परीक्षणका लागि काठमाडौं आउनुपर्ने र राजधानीमा आएपछि समेत मेडिकल तथा बायोमेट्रिकका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेको उनीहरूको भनाइ छ। स्वास्थ्य परीक्षणकै क्रममा ५०/६० हजार रुपैयाँसम्म खर्च हुने गरेको व्यवसायीहरूले बताएका छन्।
पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मका श्रमिक स्वास्थ्य परीक्षणका लागि काठमाडौं आउन बाध्य छन्। राजधानी आइपुगेपछि बायोमेट्रिक र मेडिकल परीक्षणका लागि समय लिनै कठिन हुने तथा समय पाएपछि पनि घण्टौं लाइनमा बस्नुपर्ने समस्या रहेको उनीहरू बताउँछन्। सामान्य प्राविधिक त्रुटि वा कागजातमा देखिएको सानो गल्तीका कारण समेत पटक–पटक स्वास्थ्य संस्था धाउनुपर्ने अवस्था रहेको उनीहरूको भनाइ छ।
साउदी भिसा सेन्टरले सीमित संख्यामा मात्रै मेडिकल सेन्टरलाई मान्यता दिएका कारण श्रमिकले स्वास्थ्य परीक्षणका लागि हप्तौंसम्म पालो कुर्नुपर्ने अवस्था सिर्जना भएको व्यवसायीहरूको आरोप छ।
म्यानपावर व्यवसायी डिकबहादुर खत्रीका अनुसार सरकारले साउदी जाने श्रमिकको स्वास्थ्य परीक्षणका लागि करिब १४/१५ वटा संस्थालाई मात्रै अनुमति दिएको छ। सीमित संस्थाका कारण श्रमिकमाथि मेडिकल व्यवसायीको ज्यादतीसमेत बढेको उनको दाबी छ।
साउदी जाने श्रमिकका लागि बायोमेट्रिक शुल्क ७५० रुपैयाँ तोकिएको छ। तर, पालो पाउन १५ दिनसम्म कुर्नुपर्ने अवस्था देखाएर बिचौलियाले तीन हजार रुपैयाँसम्म लिएर एकै दिनमा काम गरिदिने भन्दै श्रमिकसँग अतिरिक्त रकम असुल्ने गरेको खत्रीले बताए।
सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणका लागि देशभर ३ सयभन्दा बढी संस्थालाई अनुमति दिएको भए पनि गन्तव्य मुलुकअनुसार मान्यता प्राप्त संस्थाको संख्या निकै सीमित रहेको व्यवसायीहरूको भनाइ छ। उनका अनुसार मलेसियाका लागि ३६ वटा, कतारका लागि एउटा र साउदीका लागि १५ को हाराहारीमा मात्रै स्वास्थ्य संस्थाले परीक्षण गर्न पाउने व्यवस्था छ।
मलेसिया, कतार र साउदी अरेबियालगायत गन्तव्य मुलुकमा निश्चित मेडिकल सेन्टरमा मात्रै स्वास्थ्य परीक्षण सीमित गर्दा श्रमिक समस्यामा परेको भन्दै व्यवसायीहरूले स्थानीय तह वा प्रदेशस्तरमै स्वास्थ्य परीक्षणको व्यवस्था गर्नुपर्ने माग गरेका छन्।
कतारलगायत केही गन्तव्य मुलुकमा रोजगारदाताले स्वास्थ्य परीक्षणको खर्च व्यहोर्ने भनिए पनि त्यसको व्यवहारिक कार्यान्वयन भए–नभएको सरकारले सूक्ष्म रूपमा छानबिन गर्नुपर्ने खत्रीको भनाइ छ। उनले यस विषयमा सरकारी अडिटसमेत गर्नुपर्ने बताए।
म्यानपावर व्यवसायी रवी न्यौपानेले साउदी भिसा सेन्टर (वीएफएस)ले मेडिकल तथा बायोमेट्रिक प्रक्रियामा एकाधिकार कायम गर्दा टाढाबाट आएका श्रमिकले अनावश्यक सास्ती खेप्नुपरेको बताए। भिसा र मेडिकल प्रक्रियाका नाममा लाग्ने अतिरिक्त शुल्क तथा काठमाडौंमा बस्दा र खानामा हुने खर्चले म्यानपावरलाई बुझाउने रकमबाहेक श्रमिकको लागतसमेत दोब्बर पुग्ने गरेको उनको भनाइ छ।
साउदी रोजगारीमा जाने श्रमिकमाथि भइरहेको प्रशासनिक ढिलासुस्ती र सीमित स्वास्थ्य संस्थाको व्यवस्थाबारे सम्बन्धित निकाय तथा वैदेशिक रोजगार विभागले तत्काल ध्यान दिएर मेडिकल र बायोमेट्रिक प्रक्रिया सहज बनाउनुपर्ने व्यवसायीहरूको माग छ।



