

काठमाडौं – महिला कर्मचारी तथा श्रमिकका लागि हाल कायम ९८ दिनको सुत्केरी बिदा बढाएर ६ महिना पुर्याउनुपर्ने मागसहित प्रतिनिधिसभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ।
सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यसम्बन्धी संवैधानिक अधिकारलाई व्यवहारमै सुनिश्चित गर्नुपर्ने भन्दै विभिन्न विपक्षी दलका महिला सांसदहरूले प्रस्ताव दर्ता गराएका हुन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँग सम्बन्धित उक्त प्रस्तावको प्रस्तावक नेपाली कांग्रेसकी सांसद सीता थपलिया (उर्मिला) रहेकी छन्।
प्रस्तावमा एमालेकी भूमिका लिम्बु सुब्बा, नेपाली कम्युनिस्ट पार्टीकी बलावती शर्मा, श्रम संस्कृति पार्टीकी राधिका रम्तेल र राष्ट्रिय प्रजातन्त्र पार्टीकी सरस्वती लामा समर्थक छन्।
प्रतिनिधिसभा नियमावली, २०७३ को नियम ७१ बमोजिम दर्ता गरिएको प्रस्तावमा ९८ दिनको सुत्केरी बिदा आमा र नवजात शिशुको स्वास्थ्य तथा हेरचाहका लागि पर्याप्त नभएको उल्लेख गरिएको छ।
सरकारले ६ महिनासम्म स्तनपान र ‘सुनौलो १ हजार दिन’को अवधारणालाई प्राथमिकतामा राख्दै आए पनि आमालाई दिइने बिदा भने ९८ दिनमै सीमित रहेको भन्दै सांसदहरूले प्रश्न उठाएका छन्। विश्व स्वास्थ्य संगठनले समेत शिशुलाई जन्मेको पहिलो ६ महिनासम्म आमाको दूध मात्र खुवाउन सिफारिस गरेको अवस्थामा ९८ दिनको बिदाले पूर्ण स्तनपान कसरी सम्भव हुन्छ भन्ने उनीहरूको प्रश्न छ।
नेपालको संविधानको धारा ३८(२) ले प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यसम्बन्धी हक मौलिक अधिकारका रूपमा सुनिश्चित गरेको छ। तर, विद्यमान सुत्केरी बिदाको व्यवस्था संविधानले सुनिश्चित गरेको अधिकारअनुकूल नरहेको सांसदहरूको दाबी छ।
प्रस्तावमा पर्याप्त सुत्केरी बिदाको अभावले महिलालाई मातृत्व र रोजगारीमध्ये एउटा रोज्नुपर्ने अवस्था सिर्जना भएको उल्लेख छ। यसले महिलाको आमा बन्ने निर्णयमा समेत असर पार्न सक्ने सांसदहरूको भनाइ छ।
नेपालको प्रजनन दर १.६८ मा झरेको तथ्य उल्लेख गर्दै प्रस्तावमा घट्दो जन्मदरलाई सम्बोधन गर्न सरकारले प्रभावकारी नीति ल्याउनुपर्नेमा जोड दिइएको छ। निजामती, शिक्षण, स्वास्थ्य, बैंकिङ तथा गार्मेन्टलगायत विभिन्न क्षेत्रमा महिलाको सहभागिता बढ्दै गए पनि पर्याप्त सुत्केरी बिदाको अभावले धेरै महिला आमा बन्ने निर्णय पछि सार्न बाध्य भएको प्रस्तावमा उल्लेख छ।
राजनीतिमा सक्रिय महिलाका लागि पनि सुत्केरी बिदासम्बन्धी स्पष्ट कानुनी व्यवस्था आवश्यक रहेको सांसदहरूले बताएका छन्। सुत्केरी भएका कारण संसद् वा अन्य औपचारिक जिम्मेवारीमा उपस्थित हुन नसक्दा अनुपस्थितको सूचीमा पर्नुपर्ने अवस्था रहेको उनीहरूको दाबी छ।
सांसदहरूले सुत्केरी बिदा ६ महिनासम्म पुर्याएर आमालाई शिशुको उचित हेरचाह, स्तनपान र स्वास्थ्यमा पर्याप्त समय दिन सक्ने वातावरण बनाउन माग गरेका छन्। साथै, यो विषयलाई संसद्को छलफलको प्राथमिक एजेन्डा बनाउन पनि उनीहरूले आग्रह गरेका छन्।



