

काठमाडौं- तिलोत्तमा नगरपालिकाले सञ्चालन गर्न लागेको सुलभ फार्मेसीलाई निजी औषधि व्यवसायीसँग प्रतिस्पर्धाका रूपमा नभई सहकार्यको अवसरका रूपमा अघि बढाउन नेपाल औषधि व्यवसायी संघ, काठमाडौं जिल्ला शाखाका महासचिव शुभ मान श्रेष्ठले आग्रह गरेका छन्।
श्रेष्ठले तिलोत्तमा नगरप्रमुख रामकृष्ण खाणलाई खुला पत्र लेख्दै जनतालाई सुलभ मूल्यमा औषधि उपलब्ध गराउने उद्देश्य सकारात्मक भए पनि त्यसका लागि वर्षौंदेखि स्वास्थ्य सेवामा काम गर्दै आएका औषधि व्यवसायीलाई समस्याका रूपमा हेर्न नहुने बताएका छन्।
उनले औषधि व्यवसायी केवल व्यापार गर्ने वर्ग नभई औषधिको सहज उपलब्धताका लागि लामो समयदेखि काम गर्दै आएको स्वास्थ्य सेवाको महत्वपूर्ण हिस्सा भएको उल्लेख गरेका छन्। सहरदेखि गाउँ तथा दुर्गम बस्तीमा औषधि पुर्याउने संरचना निजी औषधि व्यवसायीले निर्माण गरेको भन्दै श्रेष्ठले बिरामीलाई आवश्यक पर्दा मध्यरातमा समेत औषधि उपलब्ध गराउने र विपद्का समयमा जोखिम मोलेर औषधि आपूर्ति कायम राख्ने व्यवसायीको भूमिकालाई स्मरण गर्न आग्रह गरेका छन्।
औषधिको मूल्य जनताको संवेदनशील विषय भएकाले सस्तो औषधि उपलब्ध गराउने विषयमा आफ्नो असहमति नरहेको श्रेष्ठले स्पष्ट पारेका छन्। तर औषधिको मूल्यलाई खुद्रा फार्मेसीको नाफासँग मात्रै जोडेर हेर्न नहुने उनको भनाइ छ। उत्पादन, आयात, कर, दर्ता, नियमन, ढुवानी, भण्डारण, थोक तथा खुद्रा वितरणसम्मको सम्पूर्ण मूल्य शृङ्खलाको अध्ययन गरेर मात्रै औषधिको मूल्यबारे निष्कर्षमा पुग्नुपर्ने उनले बताएका छन्।
औषधिको मूल्य घटाउन सकिने ठाउँ पहिचान भए व्यवसायी समुदाय समाधान खोज्न तयार रहेको, अनावश्यक लागत घटाउन सहकार्य गर्न सकिने तथा विपन्न नागरिकलाई लक्षित सहुलियतका कार्यक्रम ल्याउन पनि साझेदार बन्न तयार रहेको श्रेष्ठले पत्रमा उल्लेख गरेका छन्। तर यसको समाधान व्यवसायीलाई दोषी बनाएर नभई व्यवसायीलाई साझेदार बनाएर खोजिनुपर्ने उनको भनाइ छ।
तिलोत्तमा नगरपालिकाले सञ्चालन गर्ने सुलभ फार्मेसीलाई आफूले जनमुखी पहलका रूपमा बुझ्न चाहेको बताउँदै श्रेष्ठले त्यसको सफलता निजी फार्मेसीको असफलतामा निर्भर हुन नहुने बताएका छन्। निजी औषधि व्यवसायीले स्थानीय क्षेत्रमा लगानी, रोजगारी सिर्जना र कर भुक्तानी गर्नुका साथै वर्षौंदेखि नागरिकलाई औषधि उपलब्ध गराउँदै आएको उनले उल्लेख गरेका छन्।
श्रेष्ठले नगरपालिका र निजी क्षेत्रबीच ‘कसले अर्कोभन्दा सस्तो बेच्ने?’ भन्ने प्रतिस्पर्धाभन्दा ‘कसरी मिलेर तिलोत्तमाका नागरिकलाई सुरक्षित, गुणस्तरीय, प्रभावकारी र सर्वसुलभ औषधि उपलब्ध गराउने?’ भन्ने विषयमा बहस हुनुपर्ने बताएका छन्।
यसका लागि तिलोत्तमा नगरपालिका, औषधि व्यवसायी संघ, स्थानीय औषधि व्यवसायी, स्वास्थ्यकर्मी, औषधि व्यवस्था विभाग तथा अन्य सरोकारवालाको सहभागितामा ‘तिलोत्तमा औषधि तथा जनस्वास्थ्य सहकार्य संयन्त्र’ बनाउन उनले प्रस्ताव गरेका छन्। उक्त संयन्त्रले औषधिको वास्तविक मूल्य संरचना, अत्यावश्यक औषधिको उपलब्धता, औषधिको गुणस्तर तथा सुरक्षित भण्डारण, दक्ष जनशक्तिको भूमिका, विपन्न तथा ज्येष्ठ नागरिकका लागि सहुलियत, नगरपालिका र निजी फार्मेसीबीचको सहकार्य तथा आपत्कालीन अवस्थामा औषधि आपूर्तिलगायत विषयको अध्ययन गर्नुपर्ने उनको प्रस्ताव छ।
श्रेष्ठले औषधिको मूल्य कहाँबाट निर्धारण हुन्छ, कुन तहमा कति लागत थपिन्छ र कहाँ सुधार गर्न सकिन्छ भन्ने तथ्य सार्वजनिक गरिए भ्रम आफैँ हट्ने बताएका छन्। स्थानीय सरकार र निजी क्षेत्रबीचको सम्बन्ध आदेश र प्रतिरोधमा नभई संवाद र सहकार्यमा आधारित हुनुपर्ने उनको धारणा छ।
आफूहरू नगरप्रमुखको जनमुखी अभियानको विरोधी नभएको भन्दै श्रेष्ठले नगरपालिकाको जनस्वास्थ्यसम्बन्धी अभियानमा औषधि व्यवसायीले आफ्नो अनुभव, संरचना, स्रोत र सेवाभावसहित सहकार्य गर्न चाहेको बताएका छन्। साथै, व्यवसायीको पेशागत मर्यादा र आत्मसम्मानमा चोट नपुग्ने वातावरण बनाउन तथा उनीहरूलाई समस्याको हिस्सा नभई समाधानको साझेदारका रूपमा हेर्न उनले आग्रह गरेका छन्।



