

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद तोसिमा कार्कीले सप्तरीस्थित गजेन्द्र नारायण सिंह अस्पताल नजिकै सडकपेटीमा महिलाले बच्चा जन्माउनुपरेको घटनाले नेपालको मातृत्व सेवा र समग्र स्वास्थ्य प्रणालीमाथि गम्भीर प्रश्न उठाएको बताएकी छन्।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै कार्कीले नेपालमा संस्थागत प्रसूति निःशुल्क रहेको, आमा सुरक्षा कार्यक्रम सञ्चालनमा रहेको तथा मातृ मृत्युदर घटिरहेको भन्दै गर्व गरिए पनि नागरिकले व्यवहारमा पाउने स्वास्थ्य सेवामा अझै ठूलो समस्या रहेको बताइन्।
उनले संघीय सरकारी अस्पतालकै नजिक सडकपेटीमा महिलाले बच्चा जन्माउनुपर्ने अवस्था आउनु स्वास्थ्य प्रणालीको वास्तविक अवस्थाको ‘रिपोर्ट कार्ड’ भएको टिप्पणी गरिन्।
कार्कीले संविधानले स्वास्थ्यको हक, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको हक सुनिश्चित गरे पनि कागजमा उल्लेख गरिएको निःशुल्क सेवा र नागरिकले व्यवहारमा पाउने सेवाबीच ठूलो दूरी रहेको बताइन्।
प्रसव पीडामा अस्पताल पुग्ने महिलाको तत्काल परीक्षण, ट्रायज तथा आकस्मिक उपचार प्रक्रिया सुरु गर्नुपर्ने उनको भनाइ थियो। त्यस्ता बिरामीलाई आवश्यक मूल्यांकन गरी तत्काल भर्ना गरेर निरन्तर निगरानीमा राख्नुपर्ने उनले बताइन्।
अस्पतालमा भर्ना भएकी बिरामी सम्पर्कविहीन हुँदा उनको खोजी नगर्नु र परिवारलाई समेत जानकारी नगराउनु गम्भीर लापरबाही भएको कार्कीले बताइन्। प्रसूति सेवाका लागि अस्पताल पुगेकी महिलालाई सुरक्षित रूपमा भर्ना गर्ने, आवश्यक परे अर्को अस्पतालमा लैजान व्यवस्था गर्ने र नियमित निगरानी गर्ने जिम्मेवारी अस्पतालकै हुनुपर्ने उनको भनाइ छ।
ब्लड परीक्षणका लागि समेत पैसा नभएको अवस्थामा सामाजिक सेवा एकाइ र आमा सुरक्षा कार्यक्रम तत्काल सक्रिय हुनुपर्ने उनले बताइन्। आमा सुरक्षा कार्यक्रम बच्चा जन्माउने प्रक्रियामा मात्रै सीमित नभई गर्भावस्थादेखि सुत्केरी तथा त्यसपछिको आवश्यक सेवासम्म विस्तार हुनुपर्ने उनको भनाइ छ।
स्वास्थ्य मन्त्रालयले घटनाबारे अनुसन्धान अघि बढाएको र नेपाल मेडिकल काउन्सिलको टोलीसमेत घटनास्थल पुगेको उल्लेख गर्दै कार्कीले छानबिन दोषी पहिचान र कारबाहीमा मात्र सीमित हुन नहुने बताइन्। भविष्यमा यस्ता घटना दोहोरिन नदिन ठोस समाधानका उपायसमेत अघि बढाउनुपर्ने उनले जोड दिइन्।
कार्कीले आमा सुरक्षा कार्यक्रमलाई समग्र मातृ स्वास्थ्य सेवाको प्याकेजका रूपमा व्यवस्थित गर्न माग गरिन्। प्रसूति तथा शिशु सेवासँगै आवश्यक जाँच, औषधि, उपचार, भिडियो एक्सरे, सुत्केरी सेवा र परिवार नियोजनसम्मका सेवा कार्यक्रमले समेट्नुपर्ने उनको भनाइ छ।
कतिपय अस्पतालमा औषधि निःशुल्क उपलब्ध नहुने तथा भिडियो एक्सरेलगायतका सेवामा शुल्क लिने गरिएको भन्दै उनले यस्तो अवस्थामा आमा सुरक्षा कार्यक्रम प्रभावकारी हुन नसक्ने बताइन्।
उनले प्रत्येक अस्पतालमा सामाजिक सेवा एकाइ २४ सै घण्टा सक्रिय राख्नसमेत माग गरिन्। आर्थिक रूपमा कमजोर बिरामीले आफैँ पैसा जुटाउने वा सहयोग खोज्नुपर्ने अवस्था अन्त्य गरी अस्पतालले नै त्यस्ता बिरामी पहिचान गरेर आवश्यक सहयोग उपलब्ध गराउने प्रणाली विकास गर्नुपर्ने उनको भनाइ छ।
कार्कीले प्रत्येक अस्पतालमा विस्तृत ‘मातृ स्वास्थ्य सेवा लेखापरीक्षण’ को व्यवस्था गरी त्यसको नियमित नियमन र आवश्यक कारबाही गर्नुपर्ने मागसमेत गरिन्।
बिरामी कति आए, कति सुत्केरी भए र कति जनाको शल्यक्रिया भयो भन्ने तथ्यांक मात्रै नभई बिरामी अस्पतालमा कुन समयमा आइपुगे, तत्काल परीक्षण भयो कि भएन र उपचार प्रक्रिया कसरी अघि बढ्यो भन्ने विषयसमेत अभिलेख तथा मूल्यांकनमा समेटिनुपर्ने उनले बताइन्।



