

काठमाडौँ- स्वास्थ्य बीमा बोर्डले बीमितको उपचारमा संलग्न ३८३ वटा स्वास्थ्य संस्थालाई करिब १ अर्ब ९६ करोड ७८ लाख रुपैयाँ सोधभर्ना गरेको छ।
बोर्डको भदौ २४ गते बसेको बैठकले १ अर्ब ९६ करोड ७८ लाख ८५ हजार ५४ रुपैयाँ ६४ पैसा स्वास्थ्य संस्थालाई भुक्तानी गर्ने निर्णय गरेको हो। बोर्डका अनुसार यसपटक २ अर्ब १ करोड ४५ लाख ११ हजार ७४० रुपैयाँ ६३ पैसा बराबरको दाबी रकम स्वीकृत भएको थियो।
तर, पेस्की बाँकी रहेका संस्थाको २ लाख २ हजार ९१४ रुपैयाँ ६७ पैसा, बैंक खाता नभएका संस्थाको २ लाख ४२ हजार ३४२ रुपैयाँ ७१ पैसा तथा दुईवटा संस्थाको ५८ लाख ९३ हजार ९३० रुपैयाँ ५४ पैसा रकम रोक्का राखेर बाँकी रकम मात्रै सोधभर्नाका लागि स्वीकृत गरिएको थियो। यसरी कुल २ अर्ब ८१ हजार ७२ हजार ५५२ रुपैयाँ ७० पैसा सोधभर्नाका लागि स्वीकृत भएको बोर्डले जनाएको छ।
स्वीकृत रकममध्ये २ प्रतिशत स्वास्थ्य बीमा कोषमा जम्मा गरेर बाँकी रकम सम्बन्धित स्वास्थ्य संस्थालाई भुक्तानी गरिएको बोर्डले जनाएको छ। पछिल्लो भुक्तानीसँगै २०८३ साल वैशाखसम्म स्वास्थ्य संस्थाले दाबी गरेको रकम सोधभर्ना भएको बोर्डको भनाइ छ।
स्वास्थ्य बीमा बोर्डले लामो समयदेखि रोकिएको स्वास्थ्य संस्थाको दाबी भुक्तानीलाई पछिल्लो समय तीव्रता दिएको छ। चालु आर्थिक वर्षमा सरकारले स्वास्थ्य बीमा कार्यक्रमका लागि १५ अर्ब रुपैयाँ बजेट निकासा गरेको थियो। सोही बजेटबाट स्वास्थ्य संस्थाको बाँकी रकम धमाधम भुक्तानी भइरहेको बोर्डले जनाएको छ।
स्वास्थ्य संस्थालाई समयमा रकम उपलब्ध हुन थालेसँगै बीमा कार्यक्रमअन्तर्गत दिइने सेवामा सुधार आउने अपेक्षा गरिएको छ। देशभर स्वास्थ्य बीमा कार्यक्रम विस्तार भए पनि बीमितले औषधि तथा विभिन्न परीक्षणमा पूर्ण सेवा नपाएको गुनासो गर्दै आएका छन्।
स्वास्थ्य संस्थाले बीमाबापतको रकम समयमा नपाउँदा कतिपय अस्पतालमा बीमितलाई अन्य बिरामीको तुलनामा फरक व्यवहार गर्ने गरेको गुनासोसमेत आउने गरेको छ। नियमित रूपमा सोधभर्ना हुन थालेपछि यस्तो समस्या कम हुने अपेक्षा गरिएको छ।



