

कैलाली- बर्खा लागेसँगै सुदूरपश्चिममा सर्पदंशको जोखिम बढेको छ। वर्षाका कारण सर्पहरू सुरक्षित स्थानको खोजीमा घर तथा बस्ती आसपास पस्ने भएकाले तराईका जिल्लामा यसको जोखिम अझ बढी हुने गरेको छ। घरआँगन सफा नराख्ने, खेतबारीमा काम गर्दा सावधानी नअपनाउने र सर्पले टोकेपछि समयमै उपचारका लागि अस्पताल नपुर्याउँदा हरेक वर्ष मानिसले ज्यान गुमाउने गरेका छन्।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/०८२ मा प्रदेशभर सर्पको टोकाइबाट १२ जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा एक पुरुष, चार महिला, चार बालक र तीन बालिका थिए। सोही अवधिमा सर्पदंशका १०५ घटना भएका थिए, जसमा उनीहरू घाइते भएका थिए।
आर्थिक वर्ष २०८२/०८३ मा भने सर्पदंशबाट चार जनाको मृत्यु भएको प्रहरी तथ्यांक छ। मृत्यु हुनेमा तीन पुरुष र एक बालिका रहेका छन्। उक्त वर्ष सर्पको टोकाइबाट ६३ जना घाइते भएका थिए। घाइतेमध्ये १६ पुरुष, २१ महिला, १५ बालक र ११ बालिका थिए। प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा वरिष्ठ प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्टका अनुसार चालु आर्थिक वर्षमा पनि सर्पदंशका कारण मानिसको मृत्यु भइरहेको छ।
सुदूरपश्चिमका तराईका जिल्ला कैलाली र कञ्चनपुरमा सर्पदंशको जोखिम तुलनात्मक रूपमा बढी मानिन्छ। बर्खामा पानीका कारण सर्पहरू सुरक्षित ठाउँ खोज्दै घर तथा बस्तीमा पस्ने भएकाले यस समयमा विशेष सावधानी अपनाउन स्वास्थ्यकर्मीले सुझाव दिएका छन्।
सेती प्रादेशिक अस्पतालका चिकित्सक गजेन्द्र दुवालका अनुसार सर्पदंशबाट बच्न घरवरपर सरसफाइमा ध्यान दिनुका साथै पर्खाल तथा आँगनमा रहेका दुला पुर्न र झाडी हटाउनुपर्छ। खेतबारीमा काम गर्दा बुट लगाउने, राति हिँड्दा टर्च प्रयोग गर्ने र सुत्दा झुलको अनिवार्य प्रयोग गर्नुपर्ने उनको सुझाव छ।
सर्पले टोकेपछि झारफुक वा घरेलु उपचारमा समय खेर फाल्न नहुने चिकित्सक दुवाल बताउँछन्। उनका अनुसार बिरामीलाई सकेसम्म छिटो नजिकको सर्पदंश उपचार केन्द्र वा अस्पताल पुर्याउनुपर्छ। ‘समयमै उपचार पाए सर्पदंशबाट हुने मृत्यु रोक्न सकिन्छ,’ उनी भन्छन्। सावधानी अपनाउनुका साथै सर्पले टोकेलगत्तै उपचारका लागि अस्पताल पुग्नु नै ज्यान जोगाउने सबैभन्दा महत्वपूर्ण उपाय भएको उनको भनाइ छ।
सुदूरपश्चिममा सर्पदंशको उपचारका लागि कैलालीको सेती प्रादेशिक अस्पताल, टीकापुर अस्पताल, बडैपुर आर्मी ब्यारेक र अत्तरियास्थित तेघरी आर्मी ब्यारेकमा उपचारको व्यवस्था छ। कञ्चनपुरमा महाकाली अस्पताल, श्री २ नम्बर गण महेन्द्रनगर, भगतपुरस्थित सर्पदंश उपचार केन्द्र, नम्बर २५ फिल्ड गुल्म अर्जुनी ब्यारेक, श्री भवानी बक्स गण मझगाउँ ब्यारेक, श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्र बेलौरी, बेलडाँडी प्राथमिक स्वास्थ्य केन्द्र र दोधारा प्राथमिक स्वास्थ्य केन्द्रमा सर्पदंशको उपचार हुने गरेको छ।
पहाडी जिल्लातर्फ डडेल्धुराको जोगबुडा अस्पताल, अछाम जिल्ला अस्पताल मंगलसेन, बाजुरा जिल्ला अस्पताल, डोटी जिल्ला अस्पताल र सामुदायिक प्रहरी सर्पदंश उपचार केन्द्रमा उपचारको व्यवस्था रहेको चिकित्सकहरूले बताएका छन्। तोकिएका यी केन्द्रहरूमा सर्पदंशको निःशुल्क उपचार हुने जनाइएको छ।



