

राजविराज । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको गेटबाहिर फुटपाथमै महिलाले बच्चा जन्माएको घटनापछि अस्पताल प्रशासनले आफ्नो पक्ष सार्वजनिक गरेको छ। अस्पतालका निमित्त मेडिकल निमित्त सुपरिटेन्डेन्ट (मेसु) डा. जितेन्द्र कँडेलले सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आएका समाचारको खण्डन गर्दै बिरामी अस्पतालमा भर्ना भइसकेपछि कसैलाई जानकारी नदिई बाहिर गएको दाबी गरेका छन्।
डा. कँडेलका अनुसार बबिताकुमारी पासवान करिब ३० वर्षकी हुन् र चौथो सन्तान जन्माउन उनी राति करिब २ बजे पेट दुखेको अवस्थामा अस्पताल पुगेकी थिइन्। ड्युटीमा रहेका नर्सिङ कर्मचारीले उनको स्वास्थ्य परीक्षण गर्दा पाठेघरको मुख करिब १ सेन्टिमिटर खुलेको पाइएको थियो। अस्पताल पुग्दा रगत वा पिसाब परीक्षणको रिपोर्टसमेत उनीसँग नभएको बताउँदै डा. कँडेलले आवश्यक परीक्षण गर्न सुझाव दिइएको बताए।
उनका अनुसार बिरामीलाई विधिवत् रूपमा भर्ना गरी बेडसमेत उपलब्ध गराइएको थियो। आवश्यक परीक्षणका लागि पठाएपछि भने तोकिएको बेडमा बिरामी नरहेको अस्पतालले पाएको उनको भनाइ छ। उनले बिरामीले आवश्यक परीक्षणसमेत नगराई अस्पतालबाहिर गएको र बच्चा तथा साल बाहिरै निस्किएपछि मात्रै अस्पतालको प्रसूति वार्डमा फर्किएको दाबी गरे।
‘२ बजे उहाँलाई जाँच गरेर विधिवत् रूपमा भर्ना गरेका थियौँ। आवश्यक परीक्षणका लागि पठाइसकेपछि उहाँलाई तोकिएको बेडमा उहाँ हुनुहुन्नथ्यो,’ डा. कँडेलले भने, ‘सम्भवतः उहाँ आफैँ बाहिर जानुभयो र परीक्षण गराउनुभएन। डेलिभरी भइसकेपछि बिहान करिब ५ बजेतिर बच्चा र साल बाहिर निस्किसकेको अवस्थामा उहाँ प्रसूति वार्डमा आउनुभयो। त्यसपछि बच्चाको नाल छुटाउने र काट्ने काम अस्पतालमै भयो।’
अस्पतालले पैसा मागेका कारण बिरामीलाई भर्ना नगरेको भन्ने आरोपको पनि उनले खण्डन गरेका छन्। नेपाल सरकारको आमा सुरक्षा कार्यक्रमअन्तर्गत अस्पतालमा प्रसूति सेवा निःशुल्क रहेको र आवश्यक परे शल्यक्रियासमेत निःशुल्क हुने उनको भनाइ छ। नवजात शिशुको उपचार पनि निःशुल्क उपलब्ध गराइरहेको उनले बताए।
‘नेपाल सरकारले देशैभरि आमा सुरक्षा कार्यक्रमअन्तर्गत प्रसूतिको कुनै पनि पैसा लाग्दैन। अपरेसन गर्नुपरे पनि पैसा लाग्दैन र नवजात शिशुको केयर पनि निःशुल्क छ,’ डा. कँडेलले भने, ‘बिरामीले जाँचका क्रममा हामीसँग पैसा नभएको भनेर कसैलाई पनि भन्नुभएको छैन।’
अस्पतालमा भर्ना भइसकेकी प्रसूति व्यथाकी बिरामीलाई बाहिर जान कसरी दिइयो भन्ने प्रश्नमा डा. कँडेलले बिरामीको अधिकारलाई अस्पतालले सर्वोच्च प्राथमिकतामा राख्नुपर्ने बताए। बिरामीले उपचार वा परीक्षण गर्न अस्वीकार गरेर जान चाहेमा जबर्जस्ती रोक्न वा परीक्षण गर्न नसकिने उनको भनाइ छ।
‘हामीले अस्पतालमा बिरामीको अधिकारलाई जहिल्यै पहिलो प्राथमिकता दिनुपर्छ। कोही बिरामी म बस्दिनँ भनेर जानुहुन्छ भने उहाँको अधिकारलाई सम्मान गर्नुपर्छ,’ उनले भने, ‘म जाँचै गराउँदिनँ भन्नुहुन्छ भने ज्यानै जाने परिस्थिति नभएसम्म हामीले कसैलाई जबर्जस्ती जाँच गर्न पाइँदैन।’
अस्पतालको गेटबाहिरै प्रसूति भएको विषयमा भने अस्पताललाई पूर्वजानकारी नदिइएको डा. कँडेलको दाबी छ। व्यथाले च्यापेर अस्पतालभित्र आउन नसक्ने अवस्था भए अस्पतालका कर्मचारीलाई जानकारी गराइएको भए तत्काल स्वास्थ्यकर्मी र आवश्यक उपकरणसहितको टोली पठाउन सकिने उनले बताए।
‘बिरामी अस्पतालभित्र पुग्न नसक्ने अवस्था भएको भए यहाँबाट कसैले वार्डमा गएर मेरो बिरामी गेटमा डेलिभरी हुन लागेको छ भनेर जानकारी गराएको भए हाम्रो टिम डेलिभरी सेट लिएर तत्काल त्यहाँ पुग्थ्यो,’ उनले भने, ‘तर बिरामी आफ्नै हिसाबले बाहिर जानुभयो र बाहिर डेलिभरी भएपछि अस्पतालमा आउनुभयो।’
यस घटनालाई लिएर सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा अस्पतालको लापरबाहीका विषयमा प्रश्न उठेपछि अस्पताल प्रशासनले घटनाको आफ्नो विवरण सार्वजनिक गरेको हो।



