

बाजुरा- बाजुरामा स्वास्थ्य संस्था गाउँ–बस्तीमै पुगे पनि गर्भवती महिलाले बाटोमै बच्चा जन्माउनुपर्ने अवस्था अझै अन्त्य भएको छैन। जिल्लाका नौवटै स्थानीय तहमा प्रसूति केन्द्र तथा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा छन्। स्वास्थ्यकर्मीले गर्भवती महिलालाई नियमित गर्भजाँच, पोषणयुक्त खानपान र स्वास्थ्य संस्थामै सुरक्षित सुत्केरी गराउनुपर्ने विषयमा हरेक महिना सचेतना कार्यक्रमसमेत सञ्चालन गर्दै आएका छन्। तर, भौगोलिक विकटता, खराब सडक र स्वास्थ्य संस्थासम्म पुग्न लाग्ने लामो समयका कारण बाटोमै सुत्केरी हुने घटना अझै दोहोरिइरहेका छन्।
साउन २३ गते बिहान खप्तड छेडेदह गाउँपालिका–४ ग्वानीकी २६ वर्षीया कमला बोगटीले बाटोमै छोरालाई जन्म दिनुभयो। बडीमालिका नगरपालिका–६ स्थित कोर्धमा रहेको माइतीघरबाट पोइलीघर फर्किने क्रममा बुढीगङ्गा नगरपालिका–६ फालासैनमाथिको बाटोमा उनलाई प्रसूति व्यथा लागेको थियो।
प्रसूति व्यथाले छटपटाइरहेको अवस्थामा घटनाबारे जानकारी पाएपछि बाजुरा स्वास्थ्य चौकीमा कार्यरत अनमी ईश्वरी केसी घटनास्थलमा पुगिन्। उनले बोगटीलाई स्लाइन पानी चढाउँदै सुरक्षित रूपमा सुत्केरी गराउनुभएको थियो। बच्चा जन्मिएपछि केही समयमै बोगटीलाई रक्तस्रावसमेत भएको थियो। स्वास्थ्यकर्मीको सल्लाहमा उनलाई स्वास्थ्य संस्थामा ल्याएर उपचार गरिएको थियो।
हाल बोगटी र नवजात शिशु दुवैको अवस्था सामान्य रहेको छ। माइतीघरमा आमा–बुवासँग भेटघाट गरेर घर फर्किने क्रममा बाटोमै प्रसूति व्यथा लागेको बोगटीले बताउनुभयो। “म बाटोमा ढलेको बेलामा स्वास्थ्यकर्मी आएर मलाई स्लाइन पानी दिएपछि बच्चा जन्माउन सहज भयो,” उनले भने।
बच्चा जन्माएको केही समयपछि रक्तस्राव भएपछि स्वास्थ्यकर्मीको सल्लाहअनुसार स्वास्थ्य संस्थामा पुगेको उहाँले बताउनुभयो। “अहिले उपचारपछि मेरो र छोराको अवस्था पनि सामान्य छ,” बोगटीले भने।
बाटोमै एक महिला सुत्केरी हुन लागेको खबर पाएपछि आफू तत्काल घटनास्थलमा पुगेको अनमी ईश्वरी केसीले बताउनुभयो। उनका अनुसार स्लाइन पानी चढाएपछि बोगटीलाई सुरक्षित रूपमा सुत्केरी गराउन सकिएको थियो। “बच्चा राम्रोसँग जन्मियो। तर केही समयपछि उहाँलाई रक्तस्राव भएपछि हामीले स्वास्थ्य संस्थामा ल्याएर उपचार गरेका हौँ। अहिले उनको अवस्था सामान्य छ। उहाँसँगै शिशुको अवस्था पनि सामान्य छ। शिशुको तौल तीन किलो पाँच सय ग्राम छ,” केसीले भने।
घर टाढा हुनुका साथै वर्षाका कारण बाटोसमेत खराब रहेकाले मौसममा सुधार आएपछि मात्रै बोगटीलाई घर पठाउने तयारी गरिएको केसीले बताए।
खप्तड छेडेदह गाउँपालिकाको स्वास्थ्य शाखाले गर्भवती महिलालाई सुरक्षित प्रसूति सेवाबारे नियमित जानकारी दिँदै आएको छ। स्वास्थ्य शाखा संयोजक रमेश ओलीका अनुसार वडाका गर्भवती महिलालाई हरेक महिना स्वास्थ्य संस्थामा बोलाएर गर्भावस्था र सुरक्षित सुत्केरीका विषयमा जानकारी दिने गरिएको छ।
तर, स्वास्थ्य संस्था नजिक नहुँदा र सडकको अवस्था कमजोर हुँदा केही गर्भवती महिलाले समयमै स्वास्थ्य संस्था पुग्न नसकेको उहाँले बताउनुभयो। “कतिपय महिला यहाँका दुर्गम क्षेत्रमा सडक सञ्जालको राम्रो सुविधा नभएका कारण स्वास्थ्य संस्था जाने क्रममा बीच बाटोमै सुत्केरी हुन्छन्। केही गर्भवती महिलाले स्वास्थ्यकर्मीले दिएको सुझावलाई बेवास्ता गर्ने गरेका कारण पनि प्रसूतिको समयमा स्वास्थ्य संस्थामा नपुग्दै बीच बाटोमै सुत्केरी हुने गरेका छन्,” ओलीले भने।
बाटोमै सुत्केरी हुने घटनालाई न्यूनीकरण गर्न जिल्लाका सबै वडामा रहेका स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीलाई बोलाएर यस विषयमा समीक्षा गर्ने तयारी भइरहेको ओलीले बताए।
स्वास्थ्य कार्यालय बाजुराका अनुसार जिल्लाका गाउँ–बस्तीमा एक सयभन्दा बढी स्वास्थ्य संस्था सञ्चालनमा छन्। स्वास्थ्य कार्यालयका तथ्याङ्क अधिकृत रुगम थापाका अनुसार हिमाली गाउँपालिकामा १३, स्वामिकार्तिक खापर गाउँपालिकामा १०, जगनाथ गाउँपालिकामा ९, बुढीनन्दा नगरपालिकामा १४, बडीमालिका नगरपालिकामा १२, गौमुल गाउँपालिकामा १०, बुढीगङ्गा नगरपालिकामा १४, त्रिवेणी नगरपालिकामा १३ र खप्तड छेडेदह गाउँपालिकामा ७ वटा स्वास्थ्य संस्था सञ्चालनमा छन्।
स्वास्थ्य कार्यालयका अनुसार पछिल्लो समय यी स्वास्थ्य संस्थामा प्रसूति सेवा प्रभावकारी बन्दै गएको छ। तर, चेतनाको कमी, भौगोलिक विकटता र यातायातको असहजताका कारण गर्भवती महिलाहरू समयमै स्वास्थ्य संस्थामा पुग्न नसक्दा अझै पनि बाटोमै सुत्केरी हुने गरेका छन्।
यसअघि पनि जिल्लाका हिमाली, स्वामिकार्तिक खापर, जगनाथ, बुढीनन्दा, गौमुल, बुढीगङ्गा र खप्तड छेडेदहलयातका स्थानीय तहका करिब सात जना गर्भवती महिलाले बाटोमै बच्चा जन्माएका थिए। यसले गाउँ–बस्तीमा स्वास्थ्य संस्था स्थापना भए पनि सुरक्षित मातृत्वका लागि स्वास्थ्य संस्थासम्म सहज र समयमै पुग्ने व्यवस्था अझै चुनौतीपूर्ण रहेको देखाएको छ।



