

काठमाडौं- भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण सुरुङभित्र फसेका नेपाल विद्युत प्राधिकरणका दुई कर्मचारीको स्वास्थ्य अवस्था सामान्य रहेको छ । बाढी आएको १० दिनपछि उद्धार गरिएका उनीहरूको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको प्राधिकरणले जनाएको छ ।
उद्धारपछि दुवै कर्मचारीलाई काठमाडौंको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा भर्ना गरी आईसीयूमा राखेर उपचार भइरहेको छ । चिकित्सकहरूको विशेष निगरानीमा उपचार भइरहेका उनीहरू अहिले सामान्य कुराकानी गर्न सक्ने अवस्थामा पुगेका छन् ।
प्राधिकरणका अनुसार दुवै कर्मचारीको स्वास्थ्यमा हालसम्म कुनै गम्भीर जटिलता देखिएको छैन । थप स्वास्थ्य समस्या उत्पन्न नहोस् भन्ने उद्देश्यले उनीहरूलाई आईसीयूमा राखेर उपचार तथा निगरानी जारी राखिएको हो ।



