

काठमाडौं – बाढीमा परी मृत्यु भएका व्यक्तिहरूमध्ये हालसम्म चितवनमा ६४ वटा शव फेला परेका छन् । चितवन जिल्ला प्रहरी कार्यालयले अहिलेसम्म ६४ शव फेला परेको जानकारी दिएको हो ।
प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक मनिष श्रेष्ठका अनुसार शव खोजी कार्य अझै जारी रहेकाले मृतकका शव थप फेला पर्न सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
चितवनमा रहेका स्वास्थ्य संस्थाहरूमा एकैपटक अधिकतम ५० वटा शव मात्र राख्न सक्ने क्षमता रहेको जानकारी प्रहरीलाई प्राप्त भएको छ । शव राख्ने स्थानको अभाव हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै आपतकालीन व्यवस्थापनको रणनीतिअनुसार शवको सुरक्षा गर्नुपर्ने अवस्था रहेको प्रहरीले जनाएको छ ।
चितवन प्रहरीले बाढी तथा विपद्का क्रममा कतै शव फेला परेमा नजिकको सुरक्षा निकायलाई तत्काल जानकारी गराउन अनुरोध गरेको छ ।
साथै, क्षतिग्रस्त शवका विभत्स तस्बिर सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममार्फत प्रसारण नगर्न प्रहरीले आग्रह गरेको छ । यस्ता तस्बिरले सर्वसाधारणमा तनाव, त्रास र आतंक सिर्जना गर्न सक्ने भन्दै प्रहरीले सम्बन्धित सबैलाई संवेदनशील बन्न अपिल गरेको छ ।



