

काठमाडौं- प्रधानमन्त्री बालेन साह सार्वजनिक कार्यक्रममा प्रायः कालो चस्मामा देखिन्छन्। तर, यसपटक भने संसदको प्रश्नोत्तर कार्यक्रममा समेत उनले कालो चस्मा नखोल्ने भएपछि उनको आँखाको अवस्थाबारे चासो बढेको छ।
प्राप्त जानकारीअनुसार प्रधानमन्त्री साहले छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा आँखाको परीक्षण गराएका छन्। परीक्षणपछि चिकित्सकले आँखामा समस्या देखिएको भन्दै आवश्यकताअनुसार कालो चस्मा लगाउन र आई ड्रप प्रयोग गर्न सुझाव दिएको बताइएको छ।
आँखाको समस्यासम्बन्धी स्वास्थ्य रिपोर्टसहित प्रधानमन्त्री साहले संसद सचिवालयलाई समेत जानकारी गराइसकेको बुझिएको छ। चिकित्सकको सल्लाहअनुसार उनी संसदमा हुने प्रश्नोत्तर कार्यक्रममा पनि कालो चस्मामै उपस्थित हुने तयारीमा छन्।
सार्वजनिक जीवनमा बालेन कालो चस्माका कारण पनि चर्चामा रहँदै आएका छन्। तर, पछिल्लो समय भने चस्मा लगाउनु केवल शैलीका लागि नभई आँखाको समस्याका कारण चिकित्सकीय सल्लाहअनुसार भएको बताइएको छ।
भोलि हुने प्रश्नोत्तर कार्यक्रममा विभिन्न दलका ११ जना सांसदले प्रधानमन्त्री साहलाई प्रश्न गर्ने तयारी गरेका छन्। रास्वपाका तीन, नेपाली कांग्रेस र एमालेका दुई–दुई तथा नेकपा, राप्रपा र श्रम संस्कृति पार्टीका सांसदले पनि प्रश्न गर्ने तयारी गरेका छन्।
यसअघि सभामुख डिपी अर्यालले संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक तथा सचेतकममार्फत सांसदहरूलाई मर्यादित पोशाकमा उपस्थित हुन निर्देशन दिएका थिए।



