

दाङ – नेपाल नेत्रज्योति सङ्घ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्जअन्तर्गत सञ्चालित आँखा अस्पताल तथा उपचार केन्द्र्रहरूले आर्थिक वर्ष २०८२/०८३ मा ३ लाख ३८ हजार ९२८ जनालाई आँखा उपचार सेवा प्रदान गरेका छन् ।
यस अवधिमा १४ हजार ४७७ जनाको मोतियाबिन्दुको शल्यक्रिया तथा तीन हजार ६५५ जनाको अन्य आँखासम्बन्धी शल्यक्रिया गरी कूल १८ हजार १२१ जनालाई शल्यक्रिया सेवा प्रदान गरिएको छ ।
कार्यक्रमअन्तर्गत अस्पताल तथा उपचार केन्द्र्रका साथै विभिन्न बाह्य कार्यक्रममार्फत निःशुल्क आँखा शिविर, आँखा जाँच तथा विद्यालय आँखा जाँच कार्यक्रम सञ्चालन गरिएको थियो । ती कार्यक्रमबाट ९७ हजार ६६९ जनाले निःशुल्क आँखा जाँच सेवा प्राप्त गरेका छन् भने चार हजार ९१८ जनाको निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ ।
आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्जका वरिष्ठ अनुगमन तथा मूल्याङ्कन अधिकृत शालिकराम गौतमका अनुसार राप्ती आँखा अस्पताल तथा उपचार केन्द्र्रबाट मात्रै उल्लेख्य सङ्ख्यामा बिरामीले सेवा लिएका छन् । आर्थिक वर्ष २०८२÷०८३ मा राप्ती आँखा अस्पताल रक्षाचौरबाट ६४ हजार ६६०, लमही आँखा अस्पतालबाट ४० हजार २५८ र छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगन्ज, कपिलवस्तुबाट ८९ हजार ६६९ जनाले आँखा उपचार सेवा लिएका छन् ।
यसैगरी, घोराही आँखा उपचार सर्जिकल सेन्टरबाट सात हजार ८०६, सल्यान आँखा उपचार केन्द्र्रबाट सात हजार १५, रुकुम पश्चिम आँखा उपचार सर्जिकल सेन्टरबाट सात हजार १८१, कोइलाबास आँखा उपचार सर्जिकल सेन्टरबाट दुई हजार ५९१ र कृष्णनगरस्थित बहादुरगन्ज आँखा सर्जिकल सेन्टरबाट आठ हजार १८५ जनाले सेवा लिएका छन् ।
त्यस्तै सुलिचौर आँखा उपचार सर्जिकल सेन्टर, रोल्पाबाट चार हजार २५८, रुकुम पूर्व आँखा उपचार केन्द्र्रबाट एक हजार ३ सय ४६, भालुबाङ आँखा उपचार केन्द्रबाट चार हजार १९२, गढवा आँखा उपचार केन्द्र्रबाट एक हजार ४३९, राजपुर आँखा उपचार केन्द्रबाट ४३८ तथा राजपुर–५ स्थित केन्द्रबाट ४१९ जनाले आँखा उपचार सेवा प्राप्त गरेका छन् ।
शल्यक्रियातर्फ राप्ती आँखा अस्पताल रक्षाचौरबाट दुई हजार ४४०, लमही आँखा अस्पतालबाट एक हजार ८८९ र छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगन्जबाट छ हजार ४४९ जनाको आँखाको शल्यक्रिया गरिएको छ ।
यसैगरी विभिन्न शल्यक्रियासहितका निःशुल्क शिविरमार्फत दुई हजार ६३४ जनाको शल्यक्रिया गरिएको वरिष्ठ अधिकृत गौतमले जानकारी दिनुभयो । सङ्घद्वारा सञ्चालित आँखा अस्पताल तथा उपचार केन्द्रहरूले अन्य तीन हजार ६५५ जनालाई सामान्य तथा अन्य प्रकारका आँखाको शल्यक्रिया सेवा प्रदान गरेका छन् ।
आर्थिक वर्ष २०८२/०८३ मा ७५ हजार ९५५ जनाको चस्मा जाँच गरिएकोमा ३९ हजार ५८६ जनालाई चस्मा आवश्यक रहेको पाइएको छ ।
आँखा उपचार तथा शल्यक्रियासँगै कार्यक्रमले समुदायस्तरमा आँखा स्वास्थ्यसम्बन्धी जनचेतना र प्राथमिक स्वास्थ्य शिक्षा कार्यक्रमलाई समेत निरन्तरता दिएको छ । विद्यालयका शिक्षक, महिला स्वास्थ्य स्वयंसेविका, धामीझाँक्री, पत्रकार, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, आमा समूह तथा समाजसेवी गरी ४९४ जनालाई प्राथमिक आँखा स्वास्थ्य शिक्षा प्रदान गरिएको छ ।
विद्यालय तहमा विद्यार्थीको आँखा परीक्षण तथा प्राथमिक आँखा स्वास्थ्यसम्बन्धी जानकारी दिने उद्देश्यले विभिन्न समयमा विद्यालय आँखा स्वास्थ्य कार्यक्रम सञ्चालन हुँदै आएको वरिष्ठ अनुगमन तथा मूल्याङ्कन अधिकृत गौतमले बताए ।
कार्यक्रमअन्तर्गतका तीनवटै आँखा अस्पतालमा नियमित रूपमा नेत्र विशेषज्ञमार्फत विशेषज्ञ सेवा उपलब्ध हुँदै आएको छ । रुकुम सर्जिकल आँखा उपचार केन्द्र, सुलिचौर सर्जिकल आँखा उपचार केन्द्र, कोइलाबास सर्जिकल आँखा उपचार केन्द्र तथा घोराही फेको सेन्टर र सल्यान आँखा उपचार केन्द्रबाट आवश्यकताअनुसार विशेषज्ञ तथा शल्यक्रिया सेवा पनि प्रदान हुँदै आएको छ ।



