

काठमाडौँ – जनकपुरमा कार्यरत एक चिकित्सक र उनका बुबामाथि भएको कुटपिटको घटनाप्रति नेपाल चिकित्सक संघले गम्भीर आपत्ति जनाएको छ। संघले घटनामा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी कडा कानुनी कारबाही गर्न माग गरेको छ।
नेपाल चिकित्सक संघका अध्यक्ष डा. बद्रि रिजाल र महासचिव डा. विश्वराज दवाडीद्वारा जारी विज्ञप्तिअनुसार भदौ ५ गते जनकपुरस्थित जनकपुर हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टरमा कार्यरत चिकित्सक डा. शशी शेखर अधिकारीमाथि काम गरिरहेको अवस्थामा एक समूहले हातपात गरेको थियो।
संघका अनुसार आक्रमणकारीहरूले डा. अधिकारीका बुबामाथिसमेत मरणासन्न हुने गरी कुटपिट गरेका थिए।
स्वास्थ्य सेवा प्रदान गरिरहेका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको घटनालाई संघले अमानवीय, आक्रामक र निन्दनीय भनेको छ। यस्ता घटनाले चिकित्सक तथा स्वास्थ्यकर्मी मात्र नभई समग्र स्वास्थ्य क्षेत्रमै असुरक्षाको अवस्था सिर्जना गर्ने संघको भनाइ छ।
घटनामा संलग्न दोषीहरूलाई कुनै ढिलाइ नगरी कानुनी दायरामा ल्याउन संघले सम्बन्धित निकायसँग माग गरेको छ।
संघले ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन, २०७९)’ अनुसार घटनामा संलग्न व्यक्तिहरूमाथि कडा कारबाही गर्नसमेत जोडदार माग गरेको छ।



