

-दिपक राज जोशी
मेरो ससुरा बुबाको उपचारका लागि वीर अस्पताल जानुपर्ने भयो।
बिहीबार बिहान ६ बजे गुगलमा नम्बर खोजेर फोन गरेँ र टिकटबारे जानकारी लिएँ।
७ बजेदेखि टोकन र साढे ७ बजेदेखि टिकट वितरण हुँदो रहेछ।
त्यसैअनुसार पौने ७ बजे वीर अस्पताल पुगेँ। मभन्दा अगाडि नै ३०–३५ जना लाइनमा लागिसकेका रहेछन्।
७ बजेर ३५ मिनेटपछि स्वास्थ्य बीमा गरेका बिरामीका लागि टिकट वितरण गर्ने ढोका खुल्यो। बिरामीको प्रकृतिअनुसार दुई जना डाक्टरलाई देखाउनुपर्ने भएकाले दुईवटा छुट्टाछुट्टै टिकट काटियो। टिकट काट्दाकाट्दै ८ बजिसकेको थियो।
त्यसपछि सोधपुछ कक्षमा गएर डाक्टर आउने समय सोधेँ। जवाफ आयो– ९ बजेपछि।
टिकटमै पनि डाक्टर भेट्ने समय बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म लेखिएको थियो। टिकटमा पालो नम्बरसमेत स्पष्ट लेखिएको थियो। एउटा डाक्टरका लागि हाम्रो पालो नम्बर ८, अर्का डाक्टरका लागि पालो नम्बर ३० थियो।
म बिरामी लिन अनामनगर फर्किएँ। बिरामी लिएर ठीक ९ बजे अस्पताल पुगेँ।
तर डाक्टर भेट्ने कोठामा पुग्दा बाहिर हामीभन्दा अगाडि करिब २–३ सय मानिसको भिड देखियो।
अस्पतालका कर्मचारीहरू ‘आज यो भिड वीरको बाहिरी गेटसम्मै पुग्छ कि के हो !’ भन्दै हाँसिरहेका पनि सुनिन्थ्यो।
मलाई भने हाम्रो पालो त छिट्टै आइहाल्छ जस्तो लागेको थियो किनभने हाम्रो पालो नम्बर त ८ थियो।
ढोकामा उभिएका अस्पतालका कर्मचारीलाई टिकट देखाउँदै भनेँ– हाम्रो पालो त ८ नम्बरमा हो नि !
उनले भने– त्यहाँ लेख्दैमा केही हुँदैन हजुर। पछाडि जानुहोस्, लाइन लाग्नुस्।
मैले फेरि सोधेँ– त्यसो भए टिकटमा पालो नम्बर ८ भनेर किन लेखिएको त ?
उनले रिसाउँदै भने, ‘जसले टिकट काटेको हो, उसैलाई गएर सोध्नुस् । ह्याँ त यस्तै हो ।’
त्यो क्षण मलाई मन्त्रीहरूले बारम्बार गर्ने ‘अस्पतालमा लाइन हटाउँछौँ, सेवा सहज बनाउँछौँ’ भन्ने भाषणहरू सम्झना आयो। किनभने ती भाषणको समाचार धेरैपटक आफैँले लेखिएको थियो।
बिरामीलाई लाइनमा राखेर म फेरि टिकट काउन्टरमा पुगेँ र सोधेँ, ‘पालो नदिने भए टिकटमा पालो नम्बर किन लेखिएको ?’
काउन्टरका कर्मचारीको जवाफ पनि उस्तै थियो– भिड हुन्छ । ह्याँ त यस्तै हो।’
अनि चुपचाप लाइनमा बस्नुको विकल्प रहेन।
करिब दुई घण्टा लाइन बसेपछि बल्ल पहिलो डाक्टरलाई भेट्न पाइयो। तर हाम्रो पालोमा डाक्टर उठेर बाहिर जानुभयो। शायद शौचालय जानुभएको होला जस्तो लाग्यो। आधा घण्टापछि उहाँ आउनुभयो।
पर्चामा विभिन्न जाँच गर्नुपर्ने भन्दै लेखिदिनुभयो। त्यसबाहेक अरु केही भन्नुभएन।
त्यसपछि अर्का डाक्टरलाई भेट्न उहाँको कोठामा गयौँ। फेरि झण्डै एक घण्टा लाइन। बल्ल उहाँलाई पनि भेटेर आवश्यक जाँचबारे लेखाउन सफल भइयो।
अब सुरु भयो अर्को लाइन– स्वास्थ्य बीमाबाट बिरामीका लागि डाक्टरले लेखिदिएपछि छाप लगाउनुपर्ने नियम हुँदो रहेछ। त्यहाँ पनि करिब एक घण्टा लाइन बसियो।
त्यसपछि बिल काट्ने ठाउँमा पुगियो। चारवटा काउन्टर थिए, तर कर्मचारी भने एक जना मात्र।
डेढ घण्टाजति लाइन बसेपछि बल्ल बिल काटियो। र अब ल्याबतिर लागियो।
३ बजे ल्याबमा पुग्दा त्यहाँ पनि लाइन।
बल्लतल्ल पालो पाएर बिल बुझाएँ। ल्याबका कर्मचारीले भने– तपाईंको जाँच अहिले हुँदैन। यो त १ बजेभन्दा अगाडि नै गरिसक्नुपर्ने थियो। अहिले मिल्दैन। डाक्टरले केही भन्दिनु भएन र ?
हामीलाई डाक्टरले जाँच गराएर आउनुस् बाहेक अरु केही भन्नुभएको थिएन।
परेन फसाद ?
एकछिन चर्काचर्की भयो। ल्याबका प्रमुख आउनुभो। हामीले दिनभर लाइन लागेर पनि सेवा नपाएकोबारे कारण माग्यौँ। विवाद बढेपछि प्रशासनका हाकिम आउनुभयो।
उहाँसँग पनि हामीले प्रस्टसँग आफ्ना कुरा राख्यौँ र जवाफ माग्यौँ।
प्रशासन प्रमुखले डाक्टरले भनिदिनुपर्ने थियो किन भन्नुभएन भनेर हामीलाई जाँच गरेकै डाक्टरलाई बोलाउनुभयो।
डाक्टरको जवाफ थियो– भिड हुन्छ । हामी बिरामीलाई जिरोदेखि सम्झाउन सक्दैनौँ।
हामीले भन्यौँ– बिरामीलाई सम्झाउन सक्नुहुँदैन भने यति संवेदनशील ठाउँमा डाक्टर बनेर किन बस्नुहुन्छ ? तपाईंलाई भेट्न हामी पैसा तिरेर आएको हो नि !
उहाँले जवाफ दिन सक्नुभएन। एकछिन मौन हुनुभयो र सरी भन्नुभयो। भोलि बिहानै आउनुस् सुरुमै तपाईंको परीक्षणका लागि ल्याबमा भनिदिन्छौँ समेत भन्नुभयो।
हामीले भन्यौँ– यो समाधान होइन। तपाईंहरू सिस्टम बसाल्नुस्। दूरदराजबाट आएका बिरामीहरूलाई यसरी दिनभर यता र उता लाइन लगाएर दुःख दिनु कुनै पनि हालतमा राम्रो होइन।
उहाँहरूले ल्याबका कर्मचारी र सुरक्षा गार्डलाई समेत बोलाएर हामीलाई देखाउँदै उहाँहरूको बिहान ७ बजे सुरुमै जाँच गरिदिनुहोला भनेर निर्देशन दिनुभयो।
दिनभर भोकै बिरामी बोकेर अस्पतालमा घण्टौँ लाइन लाग्दासमेत हामीले अन्ततः जाँच नै गर्न नपाइ फर्किनुपर्यो।
दोस्रो दिन आज हामीलाई वीर अस्पताल जान मनै लागेन। हामी गएनौँ।
भन्न मन लागिरहेको छ– उपचारका लागि सरकारी अस्पताल नजानू, स्वास्थ्य बीमा गरेर त झनै नजानू।
केही प्रश्न…
यदि वीर अस्पतालको टिकटमा पालो नम्बर लेखेर पनि त्यसको कुनै अर्थ हुँदैन भने पालो नम्बर किन दिइन्छ ?
यदि बिरामीले दिनभरि अस्पतालमा लाइन बसेर पनि उपचार सेवा नपाउने, कर्मचारीले ‘ह्याँ त यस्तै हो’ भनेर प्रणाली लागू गर्न पन्छिने हो भने स्वास्थ्य सेवा सुधारका भाषण किन गर्ने ?
डाक्टरले बिरामीलाई उपचारका लागि सामान्य जानकारी पनि दिन सक्दैनन् भने उनीहरूले किन डाक्टर बनेर बस्ने ? किन बिरामीलाई धोका दिने ?
जे भए पनि मुलुककै जेठो वीर अस्पतालको जय होस्, कल्याण होस् !



