

काठमाडौँ – प्राचीन भारतीय चिकित्सक महर्षी सुश्रुतको सालिक स्कटल्यान्डस्थित रोयल कलेज अफ सर्जन्स अफ एडिनबर्गमा स्थापना गरिएको छ। शल्यचिकित्साको विकासमा ऐतिहासिक योगदान पुर्याएका सुश्रुतलाई सम्मान गर्दै सालिक स्थापना गरिएको हो।
करिब ईसापूर्व ६०० वर्षअघि जीवित रहेको मानिने सुश्रुतलाई आधुनिक शल्यचिकित्साको प्रारम्भिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने चिकित्सकका रूपमा लिइन्छ। उनलाई ‘शल्यचिकित्साका जनक’ भनेर समेत चिनिन्छ।
सुश्रुतले लेखेको ‘सुश्रुत संहिता’लाई विश्वका प्राचीन तथा प्रभावशाली चिकित्सा ग्रन्थमध्ये एक मानिन्छ। ग्रन्थमा विभिन्न प्रकारका शल्यक्रियाका विधि, चिकित्सा उपकरण, मानव शरीर रचनासम्बन्धी अध्ययन तथा उपचार पद्धतिबारे विस्तृत विवरण समेटिएको छ।
‘सुश्रुत संहिता’मा पुनर्निर्माणात्मक तथा प्लास्टिक शल्यक्रियाका प्रारम्भिक विधिहरूबारे समेत उल्लेख गरिएको पाइन्छ। त्यस समयमै शल्यक्रियाका लागि आवश्यक उपकरण र विभिन्न उपचार विधिको वर्णन गरिनुले चिकित्सा इतिहासमा सुश्रुतको योगदानलाई महत्वपूर्ण मानिएको छ।
बेलायतमा कार्यरत भारतीय मूलका शल्यचिकित्सक प्राध्यापक चन्द्र चेरुभुको पहलमा रोयल कलेज अफ सर्जन्स अफ एडिनबर्गमा सुश्रुतको सालिक स्थापना गरिएको हो। शल्यचिकित्साको क्षेत्रमा उनले पुर्याएको दीर्घकालीन योगदानको सम्मानस्वरूप सालिक स्थापना गरिएको बताइएको छ।
सुश्रुतको सम्मानमा स्कटल्यान्डमा सालिक स्थापना हुनुले प्राचीन भारतीय चिकित्सा ज्ञान र वैज्ञानिक परम्परालाई अन्तर्राष्ट्रियस्तरमा थप चिनाउने अपेक्षा गरिएको छ। हजारौँ वर्षअघि विकास गरिएका उनका चिकित्सा अवधारणा र शल्यक्रियासम्बन्धी ज्ञानले आधुनिक चिकित्सा क्षेत्रलाई समेत प्रेरणा दिँदै आएको मानिन्छ।



