

बाजुरा – बाजुराका नौ स्थानीय तहमध्ये दुई गाउँपालिकाले १० शय्याका आधारभूत अस्पताल सञ्चालनमा ल्याएका छन्। पर्याप्त जनशक्ति, औषधि र उपकरणको चुनौतीबीच जगन्नाथ र गौमुल गाउँपालिकाले अस्पताल सञ्चालनमा ल्याएका हुन्।
सरकारले स्वास्थ्य सेवाबाट वञ्चित तथा दुर्गम क्षेत्रका नागरिकलाई स्थानीय तहमै उपचारको पहुँच पुर्याउने उद्देश्यले २०७७ सालमा ‘एक स्थानीय तह, एक अस्पताल’ कार्यक्रम अघि सारेको थियो। सोही कार्यक्रमअन्तर्गत निर्माण भएका अस्पतालमध्ये जगन्नाथले २०८० चैतदेखि र गौमुलले यही भदौ ३ गतेदेखि सेवा सुरु गरेका हुन्।
जगन्नाथ गाउँपालिकाको केन्द्र जुड्डीमा निर्माण गरिएको १० शय्याको अस्पताल ११ करोड ७८ लाख ४५ हजार रुपैयाँको लागतमा तयार भएको हो। अस्पताल सञ्चालनमा आए पनि आवश्यक जनशक्ति र उपकरणको अभाव कायमै रहेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रवीन्द्रबहादुर शाहीले बताए।
उनका अनुसार २०८२ चैतदेखि मेडिकल अधिकृतको पद रिक्त छ। रिक्त पदमा चिकित्सक नियुक्तिका लागि गाउँपालिकाले तत्काल विज्ञापन गर्ने निर्णय गरेको छ।
यता, गौमुल गाउँपालिकाले अस्पतालको भवन निर्माण सम्पन्न भएको करिब डेढ वर्षपछि सेवा सुरु गरेको हो। गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले बुधबार अस्पतालको औपचारिक उद्घाटन गर्दै सेवा सञ्चालनमा ल्याएका हुन्।
अस्पतालको भौतिक संरचना तयार भए पनि विद्युत्, औषधि, उपकरण तथा जनशक्ति व्यवस्थापनमा ढिलाइ हुँदा सञ्चालनमा समय लागेको अध्यक्ष रोकायाले बताए। अहिले उपलब्ध जनशक्तिबाट सीमित सेवा सुरु गरिएको र आवश्यक जनशक्ति, औषधि तथा उपकरण थप गर्दै सेवा विस्तार गर्ने तयारी रहेको उनले जानकारी दिए।
गौमुलको अस्पतालमा मेडिकल अधिकृतसहित २२ जना कर्मचारी रहने व्यवस्था गरिएको छ। तत्काल चिकित्सक उपलब्ध हुन नसके पनि अन्य जनशक्तिबाट सेवा सुरु गरिएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिका उपाध्यक्ष सीता थापाले अस्पताल सञ्चालनमा आएपछि स्थानीयवासीलाई आफ्नै पालिकामा स्वास्थ्य सेवा लिन सहज हुने बताइन्। यसअघि सामान्य उपचारका लागि समेत सदरमुकाम मार्तडी वा धनगढीसम्म पुग्नुपर्ने बाध्यता रहेकाले अस्पताल सञ्चालनले स्थानीयको समय र खर्च दुवै घटाउने अपेक्षा गरिएको छ।
बाजुराका दुई पालिकाले आधारभूत अस्पताल सञ्चालनमा ल्याए पनि अन्य स्थानीय तहमा भने सेवा सुरु हुन सकेको छैन। सदरमुकामस्थित बडीमालिका नगरपालिकाले वडा नम्बर ७ चुथीमा १० शय्याको अस्पताल निर्माण सम्पन्न गरी सञ्चालनको तयारी गरिरहेको छ।
बुढीगङ्गा गाउँपालिकामा भने १५ शय्याको अस्पताल निर्माणको काम पाँच वर्षदेखि अलपत्र रहेको छ। जिल्लाका अन्य स्थानीय तहमा समेत आधारभूत अस्पताल निर्माणको काम विभिन्न चरणमा रहेको जनाइएको छ।



