

काठमाडौं – नेपाल औषधि उत्पादक संघ (एप्पोन) ले सरकारी खरिदमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने मन्त्रिपरिषद्को निर्णयको स्वागत गरेको छ।
संघका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का केन्द्रीय कार्यकारिणी सदस्य एवं स्वास्थ्य समिति सभापति बिप्लव अधिकारीले बिहीबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा उद्योगी–व्यवसायीसँग भएको परामर्शपछि सरकारले गरेको निर्णय सकारात्मक र आशालाग्दो सुरुवात भएको बताएका छन्।
उनले स्वदेशी उत्पादनलाई सरकारी खरिदमा प्राथमिकता दिने निर्णयले नेपाली उद्योगीको मनोबल बढाउनुका साथै लगानी विस्तार, उत्पादन वृद्धि, रोजगारी सिर्जना र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा योगदान पुग्ने बताए।
यद्यपि मन्त्रिपरिषद्को निर्णयमा स्वदेशी औषधिलाई सरकारी खरिदमा प्राथमिकता दिने विषय स्पष्ट रूपमा समेटिन नसकेको उनले उल्लेख गरेका छन्। तर सरकारको १०० बुँदे कार्यक्रममै स्वदेशी औषधिलाई प्राथमिकता दिने विषय समेटिएको र सम्बन्धित मन्त्रालयले यस विषयमा आवश्यक काम गरिरहेको विश्वास व्यक्त गर्दै अधिकारीले निकट भविष्यमा नेपाली औषधि उद्योगले सकारात्मक परिणाम पाउने अपेक्षा गरेका छन्।
औषधि सामान्य व्यापारिक वस्तु नभई नागरिकको जीवन, स्वास्थ्य सुरक्षा र राष्ट्रिय आत्मनिर्भरतासँग प्रत्यक्ष जोडिएको अत्यावश्यक वस्तु भएकाले गुणस्तरीय स्वदेशी औषधिलाई सरकारी खरिदमा प्राथमिकता दिनुपर्ने उनको भनाइ छ।
अधिकारीका अनुसार स्वदेशी औषधिलाई प्राथमिकता दिनुले नेपाली उद्योगको संरक्षणसँगै राष्ट्रिय स्वास्थ्य सुरक्षा, रोजगारी, लगानी संरक्षण, आयात प्रतिस्थापन र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा रणनीतिक योगदान पुर्याउनेछ।
उनले सरकारले युवाहरूको आशा, सपना र भरोसालाई सम्बोधन गर्दै देशलाई परनिर्भरताबाट आत्मनिर्भरतातर्फ लैजाने र आयातको विकल्पमा स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने दिशामा काम गर्ने विश्वास व्यक्त गरेका छन्।
“परनिर्भरताबाट आत्मनिर्भरतातर्फ, आयातबाट स्वदेशी उत्पादनतर्फ नेपाल अघि बढोस्,” अधिकारीले भनेका छन्।



