

काठमाडौं- नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा वरिष्ठ बालरोग विशेषज्ञ तथा अनुसन्धानकर्ता डा. सुधा बस्नेत नियुक्त भएकी छन् ।
स्वास्थ्य मन्त्री निशा मेहताले सोमबार मन्त्रीस्तरीय निर्णय गर्दै डा. बस्नेतलाई परिषद्को अध्यक्षमा नियुक्त गरेकी हुन् । सोही निर्णयअनुसार परिषद्को उपाध्यक्षमा डा. नारायणबहादुर महोत्रा तथा सदस्यहरूमा डा. गणेश दंगाल, डा. सन्तोषकुमार ठाकुर, डा. सतिशकुमार देव, डा. धर्मागत भट्टराई र डा. रबा थापा नियुक्त भएका छन् ।
नवनियुक्त अध्यक्ष डा. बस्नेत त्रिभुवन विश्वविद्यालयअन्तर्गत चिकित्सा शास्त्र अध्ययन संस्थान, महाराजगञ्ज मेडिकल क्याम्पसको बालरोग विभागमा प्राध्यापक तथा विभागीय प्रमुखका रूपमा कार्यरत छन् । वरिष्ठ बालरोग विशेषज्ञ, प्राध्यापक तथा अनुसन्धानकर्ताका रूपमा परिचित उनले भारतको युनिभर्सिटी अफ कलकत्ताबाट एमबीबीएस, त्रिभुवन विश्वविद्यालयबाट बालरोगमा एमडी तथा नर्वेको युनिभर्सिटी अफ बर्गेनस्थित सेन्टर फर इन्टरनेसनल हेल्थबाट पीएचडी गरेकी छन् ।
त्यस्तै, नवनियुक्त उपाध्यक्ष डा. महोत्रा महाराजगञ्ज मेडिकल क्याम्पसमा क्लिनिकल फिजियोलोजी विषयका प्राध्यापक तथा विभागीय प्रमुखका रूपमा कार्यरत छन् । उनले चिकित्सा शास्त्र अध्ययन संस्थानबाट एमडी (क्लिनिकल फिजियोलोजी), एमबीबीएस तथा जनरल मेडिसिनमा प्रमाणपत्र तहको अध्ययन पूरा गरेका छन् ।
डा. महोत्राले यसअघि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को नैतिक समीक्षा समिति (एथिकल बोर्ड) मा रहेर स्वास्थ्य अनुसन्धानका क्षेत्रमा योगदानसमेत पुर्याएका थिए ।
नवनियुक्त पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहणसँगै परिषद्को नेतृत्वले स्वास्थ्य अनुसन्धानलाई थप प्रभावकारी, गुणस्तरीय र प्रमाणमा आधारित बनाउने अपेक्षा गरिएको छ । अनुसन्धानबाट प्राप्त उपलब्धिलाई स्वास्थ्य नीति तथा सेवासँग जोड्दै अनुसन्धानको प्रभाव बढाउने लक्ष्य रहेको स्वास्थ्य मन्त्रीको सचिवालयले जनाएको छ ।



