

काठमाडौँ – नेपालमा क्षयरोग (टीबी) को औषधि र आधारभूत उपचार सरकारी स्वास्थ्य संस्थाबाट निःशुल्क पाइने भए पनि रोगका कारण बिरामी परिवार ठूलो आर्थिक संकटमा पर्ने गरेको एक अध्ययनले देखाएको छ।
हालै प्रकाशित अध्ययनअनुसार नेपालका ५१ प्रतिशत क्षयरोग प्रभावित परिवारले उपचारका कारण ठूलो आर्थिक भार बेहोर्नुपरेको छ। औषधि प्रतिरोधी टीबी भएका चारमध्ये तीन परिवारमा आर्थिक समस्या अझ गम्भीर देखिएको छ।
क्षयरोगको उपचारका क्रममा औषधिसँगै विभिन्न परीक्षण, यातायात, खाना, आवास तथा पोषणमा खर्च हुने गर्छ। अध्ययनमा बिरामीको कुल खर्चमध्ये ४४ प्रतिशत उपचारबाहेकका प्रत्यक्ष खर्चमा र ३९ प्रतिशत आम्दानी गुमाउँदा हुने अप्रत्यक्ष खर्चमा जाने देखिएको छ।
अध्ययनमा सहभागीमध्ये ३५ प्रतिशतले उपचार खर्च जुटाउन ऋण लिनुपरेको बताएका छन् भने केहीले जग्गा, पशुधन र सुनका गहना बिक्रीसमेत गर्नुपरेको बताएका छन्। क्षयरोगकै खर्चका कारण १३ प्रतिशत परिवार गरिबीको रेखामुनि पुगेका थिए। औषधि प्रतिरोधी टीबी भएका परिवारमा यस्तो अवस्था ३१ प्रतिशतमा पुगेको अध्ययनले देखाएको छ।
क्षयरोग विशेषज्ञ डा. प्रज्वल श्रेष्ठका अनुसार फोक्सोबाहेक शरीरका विभिन्न अंगमा टीबी हुँदा सीएसएफ परीक्षण, बायोप्सी, प्लुरल फ्लुइड परीक्षणलगायत महँगा परीक्षण आवश्यक पर्न सक्छन्, जुन निःशुल्क उपचारअन्तर्गत नपर्दा बिरामीले आफैं खर्च गर्नुपर्छ।
विश्व स्वास्थ्य संगठनको अनुमानअनुसार सन् २०२४ मा नेपालमा करिब ६७ हजार जनामा टीबी संक्रमण भएको थियो। तीमध्ये ३८ हजार ६ सय ६ जना मात्रै पहिचान भएर उपचारमा आएका थिए। स्वास्थ्य अधिकारीहरूका अनुसार समुदायमा लुकेर रहेका संक्रमित पहिचान गर्नु अहिले पनि टीबी नियन्त्रणको मुख्य चुनौती बनेको छ।
नेपालले सन् २०३५ सम्म टीबी अन्त्य गर्ने लक्ष्य लिए पनि उपचारको आर्थिक बोझ र ठूलो संख्यामा संक्रमित पहिचानबाहिर रहनुले लक्ष्य हासिल गर्न चुनौती थपिएको छ।



