

काठमाडौं – फोक्सोको क्यान्सरको जोखिम पहिचान गर्न जोखिममा रहेका व्यक्तिमा गरिने महत्वपूर्ण परीक्षण हो, फोक्सोको क्यान्सर स्क्रिनिङ। नेपाल क्यान्सर हस्पिटलमा कार्यरत वरिष्ठ परामर्शदाता मेडिकल अन्कोलोजिस्ट डा. बिजेशराज घिमिरेका अनुसार विशेषगरी लामो समयदेखि धुम्रपान गर्दै आएका व्यक्तिले फोक्सोको क्यान्सरको जोखिमप्रति सचेत हुन आवश्यक छ।
डा. घिमिरेका अनुसार पुरुषमा देखिने प्रमुख स्वास्थ्य समस्यामध्ये फोक्सोको क्यान्सर पनि एक हो। फोक्सोको क्यान्सरका करिब ८५ प्रतिशत घटना धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवनसँग सम्बन्धित हुने गर्छन्। वायु प्रदूषण पनि फोक्सोको क्यान्सरको महत्वपूर्ण जोखिम कारकका रूपमा रहेको उनको भनाइ छ।
आफूले धुम्रपान नगरे पनि लामो समयसम्म घरपरिवार वा वरपरका व्यक्तिले धुम्रपान गर्ने अवस्थामा ‘सेकेन्ड ह्यान्ड स्मोक’का कारण जोखिम बढ्न सक्ने चिकित्सकहरू बताउँछन्। विशेषगरी लामो समयसम्म धुम्रपान गरेका वा गरिरहेका ५० देखि ८० वर्ष उमेर समूहका व्यक्तिले फोक्सोको क्यान्सर स्क्रिनिङबारे चिकित्सकीय परामर्श लिनुपर्ने डा. घिमिरेको सुझाव छ।
धुम्रपानको मात्रा र अवधि पनि जोखिम मूल्यांकनको महत्वपूर्ण आधार हो। लामो समयसम्म प्रतिवर्ष २० प्याकेट वा सोभन्दा बढी चुरोट सेवन गरेका व्यक्तिमा फोक्सोको क्यान्सरको जोखिम बढी हुने भएकाले उनीहरूमा लो–डोज सीटी स्क्यानमार्फत स्क्रिनिङ गर्न सकिने चिकित्सकको भनाइ छ।
फोक्सोको क्यान्सरमा खोकी निरन्तर बढ्दै जाने, स्वर भासिने, खकारमा रगत देखिने, स्वाँ–स्वाँ हुने तथा शरीरको तौल घट्दै जानेजस्ता लक्षण देखिन सक्छन्। यस्ता लक्षण देखिएमा ढिला नगरी चिकित्सकसँग परामर्श गरी आवश्यक परीक्षण गराउनुपर्ने डा. घिमिरे बताउँछन्।
फोक्सोको क्यान्सरको स्क्रिनिङमा प्रयोग हुने लो–डोज सीटी स्क्यानको उद्देश्य क्यान्सरका लक्षण स्पष्ट रूपमा देखिनुअघि नै जोखिममा रहेका व्यक्तिमा रोग पहिचान गर्नु हो। तर नेपालमा सरकारले नीतिगत रूपमा नियमित फोक्सोको क्यान्सर स्क्रिनिङ कार्यक्रम सञ्चालन नगरेको डा. घिमिरेको भनाइ छ। यद्यपि निजी तथा संस्थागत स्तरबाट भने यस्तो परीक्षण हुँदै आएको छ।
नेपालमा महँगो परीक्षणका कारण सबै जोखिममा रहेका व्यक्तिले लो–डोज सीटी स्क्यान गर्न सक्ने अवस्था नरहेको चिकित्सकको भनाइ छ। त्यसैले कम खर्चमा धेरै मानिससम्म स्क्रिनिङ सेवा पुर्याउन एक्सरेमा एआई प्रविधिको प्रयोग गरी प्रारम्भिक जोखिम पहिचान गर्ने विकल्पबारे पनि सोच्नुपर्ने उनले बताए।
डा. घिमिरेका अनुसार फोक्सोको क्यान्सर सरुवा रोग होइन र सामान्यतः वंशाणुगत रोगका रूपमा पनि लिइँदैन। त्यसैले धुम्रपान नगर्ने र विशेष जोखिममा नरहेका व्यक्तिले अनावश्यक रूपमा फोक्सोको क्यान्सर स्क्रिनिङ गराइरहन आवश्यक नहुन सक्छ। तर लामो समयदेखि धुम्रपान गरेका वा गरिरहेका ५० देखि ८० वर्ष उमेर समूहका व्यक्तिले भने चिकित्सकीय परामर्शका आधारमा स्क्रिनिङ गराउनु महत्वपूर्ण हुने उनको सुझाव छ।
नेपालमा फोक्सोको क्यान्सरको समस्या उल्लेख्य रहेकाले जोखिम समूह पहिचान गरी समयमै स्क्रिनिङ र उपचारको पहुँच विस्तार गर्नुपर्ने आवश्यकता रहेको डा. घिमिरे बताउँछन्। उनका अनुसार रोग देखिएपछि उपचार गर्नुभन्दा जोखिममा रहेका व्यक्तिमा समयमै परीक्षण गरी क्यान्सर प्रारम्भिक चरणमै पहिचान गर्न सके उपचारको सम्भावना र परिणाम दुवै राम्रो हुन सक्छ।
यसैबीच सूरिया डायग्नोस्टिक प्रालिले फोक्सोको क्यान्सर स्क्रिनिङ सेवामा अगस्ट महिनाभर विशेष छुटको व्यवस्था गरेको छ।
फोक्सोको क्यान्सरका लक्षण देखिनुअघि नै रोग पहिचान गर्ने उद्देश्यले यो अभियान सञ्चालन गरिएको हो। विशेषगरी फोक्सोको क्यान्सरको उच्च जोखिममा रहेका व्यक्तिहरूलाई समयमै स्क्रिनिङ गराउन प्रोत्साहित गर्ने उद्देश्यले छुट योजना ल्याइएको सूरिया डायग्नोस्टिकले जनाएको छ।



