

रुकुमपश्चिम – मुसीकोट नगरपालिका–१ सल्लेस्थित जिल्ला अस्पतालमा बिरामीको चाप बढ्दै गए पनि पर्याप्त चिकित्सक नहुँदा उपचार सेवा प्रभावित भएको छ। वर्षायाम सुरु भएसँगै रुघाखोकी, ज्वरो, पखालालगायत मौसमी रोगका बिरामी बढेपछि अस्पतालमा उपचारका लागि आउने सेवाग्राही मर्कामा परेका छन्।
स्वास्थ्य सेवा कार्यालयअन्तर्गत सञ्चालित अस्पतालमा विशेषज्ञसहित आठ जना चिकित्सकको दरबन्दी भए पनि हाल तीन जना मात्र कार्यरत छन्। चार जना विशेषज्ञ र चार जना मेडिकल अधिकृतको दरबन्दी रहेको अस्पतालमा अहिले एक जना स्त्रीरोग विशेषज्ञ र एक जना मेडिकल अधिकृत कार्यरत छन्। अस्पतालले आन्तरिक स्रोतबाट एक जना हाडजोर्नी तथा नसासम्बन्धी विशेषज्ञको समेत व्यवस्था गरेको छ।
स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी तथा जनस्वास्थ्य अधिकृत कालीबहादुर ओलीका अनुसार अस्पतालमा दैनिक १५० भन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन्। केही दिनयता अस्पताल व्यवस्थापक तथा स्त्रीरोग विशेषज्ञ डा. जीवन परियार उपचारका क्रममा जिल्लाबाहिर रहेपछि एक जना मेडिकल अधिकृतकै भरमा अस्पताल सञ्चालन भइरहेको छ।
कर्णाली प्रदेशअन्तर्गत रहेको अस्पतालमा विगतमा संघ र प्रदेशबाट छात्रवृत्ति करारमा चिकित्सक आउने गरेका थिए। तर ती चिकित्सकको सेवा अवधि दुई महिनाअघि सकिएपछि अस्पतालमा जनशक्ति अभाव भएको हो।
चिकित्सक अभावका कारण सरकारी अस्पतालमा उपचारको आशा लिएर आएका बिरामीमध्ये कतिपयले चिकित्सकको प्रत्यक्ष जाँचसमेत पाउन नसकेको गुनासो गरेका छन्। रुकुमपूर्वको सिस्ने गाउँपालिका–३ बाट उपचारका लागि आएका लक्ष्मण लामिछानेले बिरामीको चाप धेरै भए पनि एक जना मेडिकल अधिकृतले मात्रै सबै बिरामीको जाँच तथा उपचार गर्नुपर्ने अवस्था रहेको बताए।
त्यस्तै, त्रिवेणी गाउँपालिकाबाट उपचारका लागि आएकी नवीना पुनले अस्पतालमा चिकित्सकलाई भेट्न लामो समय कुर्नुपर्ने अवस्था रहेको बताइन्। घण्टौँ लाइनमा बसेपछि पनि चिकित्सक भेट्न कठिन भएपछि निजी क्लिनिकमा गएर उपचार गराउनुपरेको उनको भनाइ छ।
अस्पताल प्रशासनले चिकित्सक अभाव समाधान गर्न प्रदेश सरकारसँग दरबन्दीअनुसार जनशक्ति माग गरेको जनाएको छ। साथै आन्तरिक आम्दानीबाट खर्च व्यवस्थापन गर्ने गरी थप तीन जना चिकित्सकलाई करार सेवामा नियुक्त गर्ने प्रक्रिया अघि बढाइएको छ।
जिल्ला अस्पतालमा रुकुमपश्चिमका साथै रुकुमपूर्व, सल्यान, जाजरकोट, डोल्पा र रोल्पाबाट समेत बिरामी उपचारका लागि आउने गरेका छन्। १५ शय्याका लागि स्वीकृत दरबन्दी रहेको अस्पतालले हाल करिब ४० शय्याबाट सेवा दिइरहेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ।



