

राजविराज – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सप्तरीमा निर्माण प्रस्ताव गरिएको रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि प्रस्तावित जग्गाको निरीक्षण गरेकी छन्।
निरीक्षणका क्रममा मन्त्री मेहताले प्रतिष्ठान निर्माणका लागि प्रस्तावित जग्गाको अवस्था, आवश्यक पूर्वाधार तथा निर्माण प्रक्रिया अघि बढाउने विषयमा जानकारी लिइन्। उनले प्रतिष्ठानसम्बन्धी ऐन अघि बढिसकेको जानकारी दिँदै प्रतिष्ठानलाई व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्ने गरी सरकारले आवश्यक काम अघि बढाइरहेको बताइन्।
मन्त्री मेहताले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको समेत निरीक्षण गरेकी छन्। निरीक्षणका क्रममा उनले अस्पतालको सेवा प्रवाह, भौतिक पूर्वाधार तथा जनशक्तिको अवस्थाबारे जानकारी लिइन्।
अस्पतालको सेवा विस्तार र सुदृढीकरणका लागि आवश्यक चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य सेवा उपलब्ध गराउन मन्त्रालयले समन्वय गर्ने मन्त्री मेहताले बताइन्। उनले अस्पतालको हस्तान्तरण प्रक्रिया भदौ मसान्तसम्म सम्पन्न गर्न सम्बन्धित पक्षलाई आग्रहसमेत गरिन्।
अस्पताल हस्तान्तरण भएपछि आवश्यक चिकित्सक तथा स्वास्थ्यकर्मी परिचालन गरी सेवा विस्तारमा मन्त्रालयले सहजीकरण गर्ने उनको भनाइ छ। स्थानीय नागरिकलाई गुणस्तरीय र विशेषज्ञ स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउन सङ्घ, प्रदेश तथा सम्बन्धित निकायबीच समन्वय गरी स्वास्थ्य संस्थाको क्षमता अभिवृद्धि गरिने मन्त्री मेहताले बताइन्।



