

काठमाडौं – त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका लागि ल्याइएका एक बिरामीको आकस्मिक कक्षबाहिरै मृत्यु भएको छ। मोरङका ४५ वर्षीय डोलबहादुर थापाको शुक्रबार अस्पतालको आकस्मिक कक्षबाहिर एम्बुलेन्समै मृत्यु भएको हो।
अस्पतालका अनुसार थापा नियमित डायलिसिस गराउँदै आएका थिए। स्ट्रोकको समस्या देखिएपछि उनलाई उपचारका लागि शिक्षण अस्पताल ल्याइएको थियो। अस्पताल पुग्दा उनका आफन्त आकस्मिक कक्षको ‘रेड एरिया’मा पुगेका थिए।
तर, त्यस समयमा आकस्मिक कक्षमा बेड खाली नभएको भन्दै चिकित्सकले केही समय बेड व्यवस्थापनका लागि दिन आग्रह गरेको अस्पतालका प्रवक्ता डा. गोपाल सेढाईंले बताएका छन्। आफन्तले भने बिरामीलाई अर्को अस्पताल लैजाने बताएका थिए।
त्यसपछि बिरामीलाई एम्बुलेन्ससम्म पुर्याइएको थियो। अस्पतालका अनुसार त्यसको करिब १०–१५ मिनेटमै बिरामीको अवस्था गम्भीर बनेर एम्बुलेन्समै मृत्यु भएको हो।
अस्पताल प्रशासनले बिरामीलाई आकस्मिक कक्षभित्र ल्याएर चिकित्सकीय परीक्षण गर्नसमेत नपाइएको जनाएको छ। एम्बुलेन्समै मृत्यु भएपछि शवलाई आकस्मिक कक्षभित्र ल्याएर चिकित्सकले परीक्षण गर्न आग्रह गरे पनि त्यो प्रक्रिया पूरा हुन नसकेको प्रवक्ता सेढाईंको भनाइ छ।
अस्पतालले आकस्मिक कक्षमा बिरामीको अत्यधिक चाप रहेको जनाएको छ। रेड एरिया र येलो एरियासमेत भरिभराउ रहेकाले नयाँ बिरामीलाई तत्काल राख्ने ठाउँको अभाव भएको अस्पतालको भनाइ छ।
बिरामीको मृत्यु भएपछि आफन्तले ‘बेड नपाएका कारण मृत्यु भएको’ भन्दै अस्पताल परिसरमा नाराबाजी गरेका छन्। घटनाबारे अस्पताल प्रशासनले थप विवरण बुझिरहेको जनाएको छ।



