

कञ्चनपुर – कञ्चनपुरमा अनुमति नलिई बिरामीको उपचार तथा औषधी बिक्री गर्दै आएको आरोपमा एक महिला पक्राउ परेकी छन्।
दोधारा चाँदनी नगरपालिका–१ खैराडी टोलकी ४० वर्षीया गीता सेठीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। लामो समयदेखि अनुमति नलिई उपचार गर्ने र औषधी बिक्री गर्ने गरेको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय दोधारा चाँदनी र स्वास्थ्य कार्यालय कञ्चनपुरबाट खटिएको संयुक्त टोलीले मंगलबार दिउँसो सेठीको घरमा खानतलासी गरेको थियो।
खानतलासीका क्रममा घरमा राखिएका विभिन्न प्रकारका औषधी तथा उपचारमा प्रयोग हुने उपकरण बरामद गरिएको प्रहरी नायव उपरीक्षक तथा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता टेकबहादुर रावतले जानकारी दिए।
प्रहरीका अनुसार बरामद गरिएका औषधी तथा उपकरणको मूल्य करिब ९९ हजार ४८५ रुपैयाँ बराबर रहेको छ।
अनुमतिबिना स्वास्थ्य सेवा सञ्चालन तथा औषधी बिक्री गरेको आरोपमा सेठीलाई कानुनअनुसार पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।



