

न्युयोर्क – डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोमा फैलिएको इबोला सङ्क्रमण नियन्त्रण प्रयासभन्दा तीव्र गतिमा फैलिन थालेपछि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गम्भीर चेतावनी दिएको छ।
डब्ल्यूएचओका अनुसार हालको अवस्था नियन्त्रणमा नआए कङ्गोमा देखिएको यो प्रकोप सन् २०१४–२०१६ को पश्चिम अफ्रिका इबोला महामारीभन्दा समेत घातक बन्न सक्ने जोखिम छ। उक्त महामारीमा ११ हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो।
मे १५ मा औपचारिक रूपमा प्रकोप घोषणा गरिए पनि सङ्क्रमण त्यसअघि नै फैलिन सुरु भएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्। हालसम्म ४ हजार ३ सयभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको छ भने २ हजारभन्दा बढीको मृत्यु भइसकेको जनाइएको छ।
डब्ल्यूएचओले आगामी तीन महिनाभित्र सङ्क्रमणको गति घटाउने लक्ष्य राखेको छ। यद्यपि तीन महिनामा प्रकोप पूर्ण रूपमा अन्त्य हुने नभई सङ्क्रमण नियन्त्रणको अवस्थामा ल्याउने प्रयास मात्र हुने स्पष्ट पारिएको छ।
प्रकोप प्रभावित क्षेत्रनजिकैको बूनियामा आयोजित पत्रकार सम्मेलनमा डब्ल्यूएचओका अफ्रिका निर्देशक डा. मोहामेद जनाबीले स्वास्थ्यकर्मीहरू भाइरसको फैलावटभन्दा पछाडि परेको बताएका छन्। उनका अनुसार इबोला फेब्रुअरीदेखि नै फैलिएको हुनसक्छ र सुरुवाती चरणमा बिरामीलाई मलेरिया तथा टाइफाइडजस्ता रोगका रूपमा पहिचान गरिएको थियो।
यसपटक देखिएको इबोला ‘बुन्डिबुग्यो’ प्रजातिको हो। यो प्रजातिबाट यसअघि सन् २००७ र २०१२ मा मात्र सङ्क्रमण फैलिएको थियो। हालसम्म यस प्रजातिविरुद्ध स्वीकृत खोप वा विशेष उपचारका लागि आधिकारिक औषधि उपलब्ध छैन।
कङ्गोको पूर्वी क्षेत्रमा जारी अस्थिरताले पनि सङ्क्रमण नियन्त्रणमा चुनौती थपेको छ। सुरक्षालगायतका समस्याका कारण स्वास्थ्यकर्मीहरू सबै सङ्क्रमितसम्म पुग्न नसकेको र करिब ३० प्रतिशत बिरामीसम्म मात्र पहुँच बनाउन सकिएको अधिकारीहरूले बताएका छन्।
इबोला सङ्क्रमणपछि सामान्यतया २ देखि २१ दिनभित्र लक्षण देखिन सक्छ। सुरुमा उच्च ज्वरो, टाउको दुख्ने र अत्यधिक थकानजस्ता लक्षण देखिने भए पनि अवस्था गम्भीर बन्दै जाँदा बान्ता, पखाला तथा शरीरका विभिन्न अङ्गले काम गर्न छाड्ने समस्या देखिन सक्छ। सङ्क्रमित व्यक्तिको रगत तथा अन्य शारीरिक तरल पदार्थको प्रत्यक्ष सम्पर्कबाट भाइरस सर्न सक्छ।
यसैबीच बेलायतको औषधि नियामक निकायले बुन्डिबुग्यो इबोलाविरुद्ध विकास भइरहेको नयाँ खोपको मानव परीक्षणका लागि अनुमति दिएको छ। अक्सफोर्ड विश्वविद्यालयको टोलीले अक्सफोर्ड–एस्ट्राजेनेका कोभिड–१९ खोपमा प्रयोग भएको प्रविधिलाई आधार बनाएर खोप विकास गरिरहेको छ।
बुन्डिबुग्योविरुद्ध अन्य तीन समूहले पनि खोप विकास गरिरहेका छन्। ती खोपको मानवमा परीक्षण भने सुरु हुन बाँकी छ। डब्ल्यूएचओले पनि कङ्गोमै दुईवटा पुराना एन्टिभाइरल औषधिको प्रभावकारिता परीक्षण गरिरहेको छ।



