

काठमाडौं- औषधि व्यवस्था विभागले बजारमा अभाव रहेका तथा उपचार सेवाका लागि आवश्यक भएर पनि उपलब्ध हुन नसकेका औषधिको विवरण उपलब्ध गराउन सम्बन्धित सबै अस्पताल, स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी, नागरिक तथा सरोकारवालालाई आग्रह गरेको छ।
विभागले बुधबार प्रकाशित गरेको सूचनामार्फत औषधिको अभावसम्बन्धी यथार्थ विवरण सूचना प्रकाशित भएको मितिले १० दिनभित्र उपलब्ध गराउन अनुरोध गरेको हो। विभागले विवरण संकलनका लागि गुगल फर्म समेत उपलब्ध गराएको छ।
बिरामीको उपचारका लागि अत्यावश्यक औषधिको बजारमा सहज, नियमित र निरन्तर उपलब्धता सुनिश्चित गर्ने उद्देश्यले औषधि अभावसम्बन्धी सूचना नियमित रूपमा संकलन गर्न थालिएको विभागले जनाएको छ।
औषधिको अभावका कारण बिरामीको जीवन जोखिममा पर्न सक्ने, उपचारमा कठिनाइ उत्पन्न हुने, रोग निदानमा समस्या आउने तथा स्थायी अपाङ्गतासमेत हुन सक्ने भएकाले समयमै अभाव पहिचान गरी आवश्यक नियामकीय व्यवस्था गर्न सूचना संकलन आवश्यक रहेको विभागको भनाइ छ।



