

काठमाडौँ – मनसुन सक्रिय भएसँगै भाइरल ज्वरो, मौसमी रुघाखोकी, डेंगु तथा झाडापखालाका बिरामी बढ्न थालेका छन्। ज्वरो आउने, घाँटी तथा टाउको दुख्ने, शरीर दुख्ने, रुघाखोकी लाग्नेजस्ता समस्या लिएर अस्पताल पुग्नेको सङ्ख्या पछिल्ला दिनमा बढेको हो।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पछिल्लो दुई सातामा मात्रै ज्वरो आएर इमरजेन्सीमा पुग्ने बिरामीको सङ्ख्या करिब ८० पुगेको अस्पतालले जनाएको छ। पछिल्लो एक सातामा मात्रै ४६ जना भाइरल ज्वरोका बिरामी उपचारका लागि पुगेका थिए।
अस्पतालमा दैनिक एक हजार पाँच सयदेखि एक हजार छ सयसम्म बिरामीले सेवा लिने गरेका छन्। मनसुनसँगै मौसमी रुघाखोकी, भाइरल ज्वरो र डेंगुका साथै दूषित खाना तथा पानीका कारण हुने डायरिया र टाइफाइडका बिरामीसमेत बढ्न थालेका छन्।
शुक्रराज अस्पतालका निर्देशक डा. अनुप बास्तोलाका अनुसार मौसमी रुघाखोकीमा घाँटी दुख्ने, ज्वरो आउने, टाउको दुख्ने र शरीर दुख्नेजस्ता लक्षण देखिन्छन्। डेंगुमा भने चर्को टाउको दुख्ने, आँखाका गेडी दुख्ने, मांसपेशी तथा जोर्नी दुख्ने र ढाड तथा पिँडौला करकरी दुख्नेजस्ता लक्षण बढी देखिन्छन्। डेंगुका कारण हुने शरीर दुखाइलाई ‘ब्रेकबोन फिभर’ समेत भनिन्छ।
मनसुनमा पानी जमेर एडिज जातको लामखुट्टेको प्रकोप बढेपछि डेंगुको जोखिम पनि बढ्ने चिकित्सकहरू बताउँछन्। लक्षणहरू मिल्दोजुल्दो देखिने भएकाले ज्वरो आएपछि रोग पहिचानका लागि स्वास्थ्यकर्मीको परामर्श लिन उनीहरूको सुझाव छ।
डा. बास्तोलाले सामान्य भाइरल ज्वरो दुई–तीन दिनमा आफैँ कम भएर जाने भए पनि अत्यधिक शिथिलता, कमजोरी, खाना नरुच्ने, पेट दुख्ने, पखाला लाग्ने वा लगातार उल्टी हुनेजस्ता लक्षण देखिएमा ढिला नगरी अस्पताल जानुपर्ने बताए।
ज्वरो आएका बेला घरमै प्यारासिटामोल सेवन गर्न र झोलिलो पदार्थ प्रशस्त पिउन सकिने भए पनि चिकित्सकको सल्लाहबिना एन्टिबायोटिक प्रयोग नगर्न उनले सुझाव दिए। भाइरल संक्रमणमा सामान्यतया एन्टिबायोटिक आवश्यक नपर्ने भएकाले संक्रमणको कारण यकिन गरेर मात्रै औषधि प्रयोग गर्नुपर्ने उनको भनाइ छ।
उनका अनुसार अनावश्यक एन्टिबायोटिक प्रयोगले साइड इफेक्टसँगै एन्टिमाइक्रोबियल रेसिस्टन्स अर्थात् औषधिले काम नगर्ने ब्याक्टेरियाको समस्या बढाउन सक्छ। डेंगु र मौसमी रुघाखोकीजस्ता भाइरल रोगमा सेकेन्डरी ब्याक्टेरियल संक्रमण नभएसम्म एन्टिबायोटिक आवश्यक नपर्ने भएकाले स्वास्थ्यकर्मीको सल्लाहमा मात्रै प्रयोग गर्नुपर्ने उनले बताए।
ज्वरोको कारण यकिन नगरी आफूखुसी औषधि सेवन गर्नुभन्दा चिकित्सकको परामर्श लिएर आवश्यक परीक्षण तथा उपचार गराउनु सुरक्षित हुने चिकित्सकहरूको सुझाव छ।



