

कैलाली- कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालमा थप ५ सय शय्या विस्तार गरिने भएको छ। नेपाली सेनाको जिम्मेवारीमा रहेको धनगढीस्थित होल्डिङ सेन्टरका शय्या गेटामा सारेर अस्पतालको क्षमता बढाउन लागिएको हो।
हाल ५० शय्याको अनुमति लिएर सञ्चालनमा रहेको शिक्षण अस्पतालमा यसअघि ३ सय शय्या रहेको बताइएको छ। होल्डिङ सेन्टरबाट थप ५ सय शय्या ल्याइएपछि अस्पतालको कुल क्षमता ६ सय शय्या पुग्नेछ।
होल्डिङ सेन्टरबाट शय्या गेटा सार्ने काम मंगलबारदेखि सुरु भएको छ। धनगढी उपमहानगरपालिकाले शय्या ढुवानीका लागि टिप्पर उपलब्ध गराएपछि स्थानान्तरणको काम सुरु गरिएको विश्वविद्यालयका उपकुलपति सुनिलकुमार जोशीले बताए।
उनका अनुसार गेटामा ३ सय शय्याको शिक्षण अस्पताल सञ्चालन गर्ने तयारीअन्तर्गत संगठन तथा व्यवस्थापन सर्वेक्षणअनुसार आवश्यक काम तीव्र रूपमा अघि बढिरहेको छ। एक महिनाभित्र ३ सय शय्याको शिक्षण अस्पताल सञ्चालन गर्न आवश्यक उपकरण व्यवस्थापन तथा शैक्षिक जनशक्ति नियुक्तिलगायतका काम अन्तिम चरणमा पुगेको उनले बताए।
यसै शैक्षिक सत्रदेखि गेटामा चिकित्सा शिक्षाका विभिन्न कार्यक्रम सञ्चालन गर्न मन्त्रिपरिषद्ले स्वीकृति दिइसकेको छ। त्यसका लागि आवश्यक बजेटसमेत व्यवस्थापन भइसकेको विश्वविद्यालयले जनाएको छ।
शैक्षिक कार्यक्रम सञ्चालनका लागि प्रदेश सरकारले सेती, लम्कीचुहा र टीकापुर तथा कञ्चनपुरको महाकाली प्रादेशिक अस्पताललाई शिक्षण अस्पतालका रूपमा प्रयोग गर्न दिने निर्णयसमेत गरेको छ।
प्रादेशिक अस्पतालका शय्या देखाएर गेटास्थित शिक्षण अस्पताल विस्तारमा अवरोध हुन सक्ने आशंकाबीच विश्वविद्यालयले आफ्नै शिक्षण अस्पताललाई समेत समानान्तर रूपमा विस्तार गर्ने तयारी अघि बढाएको जनाएको छ।
विश्वविद्यालयले यसै शैक्षिक सत्रदेखि एमबीबीएसमा ५०, बीएस्सी नर्सिङमा ३०, बीएस्सी मेडिकल ल्याब टेक्नोलोजी (एमएलटी) मा २० र बी अप्टोमेट्रीमा २० विद्यार्थी भर्ना गरी कक्षा सञ्चालन गर्ने तयारी गरेको छ।
यसका लागि चिकित्सा शिक्षा आयोगमा आवेदन दिएर आवश्यक प्रक्रिया अघि बढाइएको छ भने ७५ प्रतिशत छात्रवृत्तिका लागि स्रोत सुनिश्चित भइसकेको जनाइएको छ। आयोगको टोलीले आगामी भदौमा स्थलगत अध्ययन गरेपछि बाँकी प्रक्रिया अघि बढाउने विषयमा निर्णय गर्नेछ।



