

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तिशिखा धितालले इन्टर्न डाक्टरको पारिश्रमिकमा सरकारी र निजी मेडिकल कलेजबीच रहेको ठूलो अन्तर हटाउन सरकारसँग माग गरेकी छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै धितालले देशबाट चिकित्सक पलायन भइरहेको अवस्थामा उनीहरूलाई स्वदेशमै टिकाउन सरकारले उचित वातावरण बनाउनुपर्ने बताइन्। उनले इन्टर्न डाक्टरको समस्या सरकारी र निजी भनेर विभाजन गर्न नहुने धारणा राखिन्।
उनका अनुसार एमबीबीएस अध्ययन पूरा गर्न विद्यार्थीले लाखौँ रुपैयाँ खर्च गर्नुपर्छ। तर, इन्टर्न डाक्टरले निजी मेडिकल कलेजमा औसत १० हजार रुपैयाँ र सरकारी मेडिकल कलेजमा करिब २४ हजार रुपैयाँ पारिश्रमिक पाउँदै आएका छन्।
‘निजी र सरकारी मेडिकल कलेजका लागि एउटै मापदण्ड बनाउन त्यति व्यावहारिक नहोला, तर यति ठूलो अन्तर हुनु पनि न्यायोचित होइन,’ उनले भनिन्।
धितालले इन्टर्न डाक्टरबीचको विभेद अन्त्य गर्न सरकारले स्पष्ट कार्यविधि बनाएर कार्यान्वयनमा ल्याउनुपर्ने बताइन्। सरकारले गरेको प्रतिबद्धता पूरा गर्नुपर्नेमा जोड दिँदै उनले इन्टर्न डाक्टरलाई कम्तीमा समान रूपमा सम्मान र उचित पारिश्रमिकको व्यवस्था गर्नुपर्ने धारणा राखिन्।
‘कम्तीमा दुःख र अपमानलाई निजी र सरकारी नबनाऔँ। इन्टर्न डाक्टरलाई कति तलब दिने भन्ने स्पष्ट कार्यविधि बनाएर कार्यान्वयनमा ल्याऔँ,’ उनले भनिन्।
निजी मेडिकल कलेजले सरकारले तोकेको व्यवस्था पालना गरिरहेको बताउने गरेको उल्लेख गर्दै धितालले सरकारले आफैँले गरेको वाचा पूरा गर्नुपर्ने प्रश्नसमेत उठाइन्।



