

काठमाडौं – नेपालमा फोक्सोको क्यान्सर सबैभन्दा धेरै देखिने क्यान्सरमध्ये एक हो। अधिकांश बिरामी अस्पताल पुग्दा रोग निकै फैलिसकेको अवस्था हुने भएकाले उपचार जटिल बन्ने गरेको क्यान्सर रोग विशेषज्ञहरू बताउँछन्। त्यसैले पछिल्ला वर्षहरूमा फोक्सोको क्यान्सरको ‘स्क्रिनिङ’ अर्थात् लक्षण देखिनुअघि नै गरिने जाँचको महत्व बढ्दै गएको छ।
नेशनल हस्पिटल एन्ड क्यान्सर सेन्टर, जावलाखेलकी क्यान्सर रोग विशेषज्ञ डा. रश्मी पुन गुरुङका अनुसार स्क्रिनिङ भनेको कुनै लक्षण नदेखिएको अवस्थामा पनि जोखिम समूहका व्यक्तिमा रोग प्रारम्भिक चरणमै पत्ता लगाउने प्रक्रिया हो। प्रारम्भिक अवस्थामै क्यान्सर पहिचान भए उपचार प्रभावकारी हुने, उपचार खर्च कम लाग्ने र बिरामीको जीवन बच्ने सम्भावना उल्लेख्य रूपमा बढ्ने उनले बताइन्।
उनका अनुसार फोक्सोको क्यान्सरको स्क्रिनिङका लागि मुख्य रूपमा ‘लो–डोज सिटी स्क्यान’ गरिन्छ। यो परीक्षण सामान्यतया १५ देखि ३० मिनेटभित्र सम्पन्न हुन्छ। यसबाट फोक्सोमा सानो ट्युमर वा क्यान्सरको संकेत मात्रै होइन, क्षयरोग (टिबी), दम, फोक्सोका अन्य समस्या तथा कतिपय अवस्थामा मुटुसम्बन्धी समस्या पनि पहिचान गर्न सकिन्छ।
यदि स्क्रिनिङमा कुनै असामान्य ट्युमर वा गाँठो देखियो भने बिरामीको अवस्था मूल्याङ्कन गरी थप परीक्षण गरिन्छ। आवश्यक परे बायोप्सी गरेर क्यान्सर पुष्टि भएपछि रोगको चरणअनुसार शल्यक्रिया, किमोथेरापी, रेडियोथेरापी, टार्गेटेड थेरापी वा इम्युनोथेरापी जस्ता उपचार सुरु गरिने डा. गुरुङले बताइन्।
उनका अनुसार फोक्सोको क्यान्सरका प्रारम्भिक लक्षणहरूमा लामो समयसम्म निको नहुने खोकी, खकारमा रगत देखिनु, लगातार छाती दुख्नु, सास फेर्न गाह्रो हुनु, तौल घट्दै जानु, थकान बढ्नु तथा बारम्बार टिबी जस्तै लक्षण देखिनु पर्छ। यस्ता लक्षणलाई सामान्य खोकी वा रुघाखोकी सम्झेर बेवास्ता गर्नु खतरनाक हुन सक्छ।
“धेरै बिरामी ढिलो अस्पताल आउँछन्। लक्षण सुरु भएको धेरै महिनापछि मात्रै जाँच गराउँदा रोग फैलिसकेको हुन्छ,” उनले भनिन्, “त्यसैले लामो समय खोकी लागेमा वा खकारमा रगत देखिएमा तुरुन्त चिकित्सकको परामर्श लिनुपर्छ।”
फोक्सोको क्यान्सर पुरुषमा बढी देखिनुको प्रमुख कारण धुम्रपान रहेको उनले बताइन्। नेपालमा पुरुषमा धुम्रपान गर्ने दर महिलाभन्दा धेरै भएकाले पुरुषमा यो रोग बढी देखिन्छ। तर धुम्रपान नगर्ने महिलाहरू पनि चुरोटको परोक्ष धुँवा, दाउरा वा बायोमास इन्धनको चुलोबाट निस्कने धुँवा, वायु प्रदूषण तथा अन्य विषाक्त धुँवाको सम्पर्कका कारण जोखिममा पर्ने उनले उल्लेख गरिन्।
डा. गुरुङका अनुसार सबै फोक्सोको क्यान्सर पूर्ण रूपमा निको हुन्छ भन्ने छैन। रोग कुन चरणमा पत्ता लाग्यो भन्ने कुराले उपचारको सफलता निर्धारण गर्छ। प्रारम्भिक चरणमा पहिचान भए शल्यक्रियाबाट निको हुने सम्भावना धेरै हुन्छ भने ढिलो पत्ता लागेमा रोग नियन्त्रण, आयु लम्ब्याउने र जीवनको गुणस्तर सुधार गर्ने उद्देश्यले उपचार गरिन्छ। केही प्रकारका फोक्सोको क्यान्सरमा वंशाणुगत (जेनेटिक) कारण पनि जोडिन सक्ने भएकाले पारिवारिक इतिहास भएका व्यक्तिले विशेष सतर्कता अपनाउनुपर्ने उनले बताइन्।
उनले विशेष गरी ५० वर्षभन्दा माथिका, लामो समयदेखि धुम्रपान गरेका वा १५ वर्षभित्र मात्रै धुम्रपान छोडेका व्यक्तिहरूलाई चिकित्सकको सल्लाहअनुसार लो–डोज सिटी स्क्यानमार्फत स्क्रिनिङ गराउन सुझाव दिइन्।
नेपालमा सिटी स्क्यान गर्दा विकिरण (रेडिएसन) ले असर गर्छ कि भन्ने धेरैको जिज्ञासा रहने गरेको उल्लेख गर्दै उनले स्क्रिनिङमा प्रयोग हुने लो–डोज सिटी स्क्यानमा सामान्य सिटी स्क्यानको तुलनामा कम विकिरण प्रयोग हुने बताइन्। चिकित्सकीय आवश्यकता र लाभको आधारमा गरिने यस्तो परीक्षणबाट प्राप्त हुने फाइदा सम्भावित जोखिमभन्दा धेरै ठूलो हुने उनको भनाइ छ।
फोक्सोको क्यान्सरबाट बच्न धुम्रपान नगर्ने, अरूले पिएको चुरोटको धुँवाबाट पनि सकेसम्म टाढा रहने, घरभित्रको धुँवा कम गर्ने, नियमित व्यायाम गर्ने, सन्तुलित आहार खाने, प्रदूषणबाट बच्ने र कुनै पनि असामान्य लक्षण देखिएमा ढिला नगरी चिकित्सकसँग परामर्श गर्ने सबैभन्दा प्रभावकारी उपाय भएको डा. गुरुङले बताइन्।
उनले अन्त्यमा भनिन्, “स्क्रिनिङ गर्न डराउनु हुँदैन। क्यान्सर ढिलो पत्ता लाग्नुभन्दा चाँडै पत्ता लाग्नु नै जीवन बचाउने सबैभन्दा ठूलो अवसर हो।”



