

काठमाडौं- क्यान्सर समयमै पहिचान गरी उचित उपचार गरे निको हुन सक्ने र उपचारका लागि विदेश नै जानुपर्छ भन्ने धारणा गलत रहेको सन्देश दिन ललितपुरमा शनिबार ‘क्यान्सर विजेता र्याम्प शो–२०२६’ आयोजना गरिएको छ।
नेपाल क्यान्सर सहयोग समूह र ‘उपचारका लागि सहयोगी हातहरू’को आयोजनामा, नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टर तथा सिल्भर लाइन हस्पिटलको सहकार्यमा सम्पन्न कार्यक्रममा क्यान्सरलाई पराजित गरी सामान्य जीवनमा फर्किएका विभिन्न उमेर समूहका व्यक्तिहरू एउटै र्याम्पमा उत्रिएका थिए।

र्याम्पमा तीन वर्षका बालकदेखि ८५ वर्षकी ज्येष्ठ नागरिकसम्म सहभागी भएका थिए। उनीहरूसँगै उपचारमा संलग्न चिकित्सकहरू पनि र्याम्पमा सहभागी बनेका थिए, जसले बिरामी र चिकित्सकबीचको विश्वास तथा उपचार यात्राको सन्देश दिएको आयोजकले जनाएको छ।
कार्यक्रममा हिमानी कोषका केन्द्रीय कार्यकारिणी सदस्य अधिराजकुमारी दिलाशा राज्यलक्ष्मी शाहले विपन्न क्यान्सर बिरामीको उपचार र जनचेतनामूलक अभियानका लागि आयोजक संस्थालाई एक लाख रुपैयाँ सहयोग हस्तान्तरण गर्नुभयो। अन्य दाताहरूले पनि क्यान्सर बिरामीको उपचार सहयोग तथा जनचेतना अभिवृद्धिका लागि आर्थिक सहयोग प्रदान गरेका थिए।

सो अवसरमा मिसेस नेपाल युनिभर्स–२०२६ की विजेता तथा मोडल डली गुरुङ याक्थुम्बा र बबी शाक्यलाई सम्मान गरिएको थियो।
कार्यक्रममा संघीय सांसद डा. तोशिमा कार्की, माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालालगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरका कार्यकारी अध्यक्ष डा. सुदीप श्रेष्ठ, र्याम्प शोकी संयोजक स्वरुपा श्रेष्ठ, सांसद डा. तोशिमा कार्की, लेखक दामोदर पुडासैनी तथा शशांक शर्माले क्यान्सरबारे जनचेतना, समयमै उपचारको आवश्यकता र समाजमा सकारात्मक सन्देश फैलाउन यस्ता कार्यक्रमको महत्वबारे धारणा राखेका थिए।










