

काठमाडौं – नेपाल नर्सिङ संघले नर्सहरूको तलब, भत्ता तथा अन्य पेशागत सुविधा सम्बन्धी मागहरू अझै पूर्ण रूपमा कार्यान्वयन नभएको भन्दै नेपाल सरकारसँग तत्काल कार्यान्वयन गर्न जोडदार माग गरेको छ।
संघले जारी गरेको विज्ञप्तिमा देशभरका सरकारी, गैरसरकारी तथा निजी स्वास्थ्य संस्थामा कार्यरत नर्सहरूको समस्यालाई लिएर विगतदेखि नै आन्दोलन गर्दै आएको उल्लेख गरिएको छ। संघका अनुसार २०८२ साल कार्तिक ४ गतेदेखि देशव्यापी आन्दोलन सञ्चालन गरिएको थियो।
२०८२ कार्तिक १५ गते नेपाल सरकार, तत्कालीन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाल नर्सिङ संघ तथा अन्य सरोकारवाला संस्थाबीच भएको सम्झौताअनुसार तलब, भत्ता तथा अन्य सुविधासम्बन्धी विषयहरू हालसम्म पनि पूर्ण रूपमा कार्यान्वयन नभएको संघको भनाइ छ। त्यसैले उक्त सम्झौता यथाशीघ्र कार्यान्वयन गर्न सरकारसँग माग गरिएको छ।
यस्तै, आफ्ना विभिन्न मागसहित नर्स ज्योति रानाभाटले २०८३ साउन १४ गतेदेखि आमरण अनशन सुरु गरेको उल्लेख गर्दै संघले उनको जीवनरक्षाका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयलाई आवश्यक पहल गर्न आग्रह गरेको छ।
नेपाल नर्सिङ संघकी महासचिव डा. देवका कुमारी आचार्यद्वारा जारी विज्ञप्तिमा नर्सहरूको पेशागत अधिकार र सेवा–सुविधा सुनिश्चित गर्न सरकार गम्भीर बन्नुपर्नेमा जोड दिइएको छ।



