

काठमाडौं – एमबीबीएस तथा बीडीएस इन्टर्न स्टाइपेन्ड एकरूपता अभियानका संयोजक डिल्ली हरिजनले सरकारले कार्यदलको प्रतिवेदनअनुसार तोकिएको समयभित्र निर्णय नगरे साउन १९ गतेदेखि आमरण अनशन सुरु गर्ने घोषणा गरेका छन्।
प्रेस विज्ञप्ति जारी गर्दै हरिजनले चिकित्सा शिक्षा आयोगका अध्यक्ष एवं प्रधानमन्त्री बालेन्द्र शाह, सह-अध्यक्ष शिक्षा मन्त्री सस्मित पोखरेल, सह-अध्यक्ष स्वास्थ्य मन्त्री निशा सिंह मेहता, आयोगका उपाध्यक्ष देवेन्द्र खत्रीलगायत सम्बन्धित निकायलाई कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्न आग्रह गरेका छन्।
उनले एमबीबीएस तथा बीडीएस इन्टर्नको स्टाइपेन्ड एकरूपता सुनिश्चित गर्न सुरु गरिएको अभियान लामो समयदेखि जारी रहेको उल्लेख गर्दै सरकारले गठन गरेको कार्यदलले अध्ययन सम्पन्न गरी प्रतिवेदन र आवश्यक सिफारिससमेत बुझाइसकेको बताए। अब निर्णय मात्रै हुन बाँकी रहेको उनको भनाइ छ।
हरिजनका अनुसार अभियानले हालसम्म संवाद, छलफल, पत्राचार, शान्तिपूर्ण प्रदर्शन तथा अन्य लोकतान्त्रिक माध्यमबाट निरन्तर आवाज उठाउँदै आएको छ। तर माग अझै सम्बोधन नभएकाले अन्तिम दबाबस्वरूप आमरण अनशनको निर्णय गरिएको उनले जनाएका छन्।
उनले साउन १८ गतेभित्र चिकित्सा शिक्षा आयोगको पूर्ण बैठकबाट कार्यदलको प्रतिवेदनअनुसार निर्णय नभए साउन १९ गते बिहान १० बजे काठमाडौंको माइतीघर मण्डलाबाट आमरण अनशन सुरु गर्ने चेतावनी दिएका छन्।
हरिजनले इन्टर्न चिकित्सकको स्टाइपेन्ड सम्बन्धी समस्या समयमै समाधान गरी कार्यदलको सिफारिस कार्यान्वयन गर्न सरकारसँग पुनः आग्रह गरेका छन्।




