

काठमाडौं – नेपाल आयुर्वेद चिकित्सक संघले आयुर्वेद औषधिको नाममा सञ्चारमाध्यम, सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्ममार्फत प्रसारण भइरहेका भ्रामक तथा गैरकानुनी स्वास्थ्यसम्बन्धी विज्ञापन तत्काल रोक्न विज्ञापन बोर्डसँग आग्रह गरेको छ।
संघका अध्यक्ष डा. शंकर गौतम र महासचिव डा. ऋषि केशव भुषालले विज्ञापन बोर्डका अध्यक्षलाई पठाएको पत्रमा यस्ता विज्ञापनले नागरिकको स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने भएकाले प्रचलित कानुनअनुसार कडाइका साथ नियमन गर्नुपर्ने उल्लेख गरिएको छ।
संघका अनुसार यसअघि पनि सम्बन्धित सरकारी निकायको ध्यानाकर्षण गराइएको थियो। नेपाल प्रहरीले केही गैरकानुनी गतिविधिमाथि अनुसन्धान र कारबाही गरे पनि कलाकार, पत्रकार, सामाजिक सञ्जालका इन्फ्लुएन्सर, सञ्चारमाध्यम तथा विभिन्न डिजिटल प्लेटफर्ममार्फत कानुनविपरीत स्वास्थ्यसम्बन्धी विज्ञापन अझै निरन्तर प्रसारण भइरहेको दाबी गरिएको छ।
संघले संकलन गरेको प्रमाणअनुसार ‘१०० प्रतिशत निको हुन्छ’, ‘ग्यारेन्टी उपचार’, ‘बिना साइड इफेक्ट’ जस्ता वैज्ञानिक आधारविहीन दाबी गर्दै औषधिको प्रचारप्रसार भइरहेको जनाएको छ। साथै कलाकार र इन्फ्लुएन्सरमार्फत औषधि प्रवर्द्धन गर्ने, चिकित्सक वा स्वास्थ्यकर्मीको सिफारिस भएको जस्तो देखाउने, बिरामीका फोटो, भिडियो तथा व्यक्तिगत स्वास्थ्य विवरण विज्ञापनमा प्रयोग गर्ने, उपचारका दृश्य सार्वजनिक गर्ने तथा औषधि व्यवस्था विभागबाट स्वीकृति नलिएका औषधिको प्रचार गर्ने कार्यसमेत भइरहेको संघको आरोप छ।
यस्ता गतिविधि विज्ञापन (नियमन गर्ने) ऐन, २०७६, औषधि ऐन, २०३५, उपभोक्ता संरक्षण ऐन, २०७५, गोपनीयतासम्बन्धी ऐन, २०७५ तथा स्वास्थ्य व्यवसायीको पेशागत आचारसंहिताविपरीत रहेको संघले जनाएको छ।
संघले स्वास्थ्यसम्बन्धी विज्ञापनले नागरिकको उपचारसम्बन्धी निर्णयमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले यसको नियमनलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएको छ।
विज्ञापन बोर्डसँग संघले गैरकानुनी विज्ञापन तत्काल हटाउन, त्यस्ता विज्ञापनमा संलग्न कलाकार, इन्फ्लुएन्सर, सञ्चारमाध्यम, विज्ञापन एजेन्सी तथा सम्बन्धित व्यक्ति–संस्थामाथि कानुनी कारबाही अघि बढाउन, बिरामीको व्यक्तिगत स्वास्थ्य विवरणको दुरुपयोग रोक्न, स्वास्थ्यसम्बन्धी विज्ञापन प्रसारणअघि आवश्यक स्वीकृति अनिवार्य गर्न तथा कलाकार र सञ्चारमाध्यमको जिम्मेवारी स्पष्ट पार्ने व्यवस्था गर्न माग गरेको छ।
यसका साथै संघले प्रेस काउन्सिल नेपाल, चलचित्र विकास बोर्ड र नेपाल कलाकार संघलाई समेत बोधार्थ पठाउँदै भ्रामक स्वास्थ्य विज्ञापन नियन्त्रण, पत्रकारिता आचारसंहिताको प्रभावकारी कार्यान्वयन तथा कलाकारहरूलाई गैरकानुनी औषधि विज्ञापनमा संलग्न हुन नदिन आवश्यक पहल गर्न आग्रह गरेको छ।



