

काठमाडौं – नारायणी अस्पतालमा चिकित्सकमाथि भएको हातपातको घटनाको विरोधमा नेपाल चिकित्सक संघ (एनएमए) ले आन्दोलनलाई थप सशक्त बनाएको छ। आन्दोलनअन्तर्गत बुधबार काठमाडौंको माइतीघर मण्डलामा चिकित्सकहरूले प्रदर्शन गर्दै दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न तथा स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्।

नारायणी अस्पतालमा बिरामीको मृत्युपछि उपचारमा संलग्न चिकित्सकमाथि आक्रमण भएको घटनाको विरोधमा देशभरका चिकित्सकहरूले लगातार दोस्रो दिन पनि ओपीडी सेवा बन्द राखेका छन्। आकस्मिक र अत्यावश्यक सेवा भने नियमित रूपमा सञ्चालन भइरहेको चिकित्सकहरूले बताएका छन्।

प्रदर्शनलाई सम्बोधन गर्दै नेपाल चिकित्सक संघका अध्यक्ष डा. बद्री रिजालले इमर्जेन्सीमा उपचार गरिरहेका चिकित्सकमाथि भएको आक्रमणले सम्पूर्ण स्वास्थ्यकर्मी समुदाय असुरक्षित बनेको बताए। उनका अनुसार आक्रमणमा परेका चिकित्सकको टाउको र घाँटीमा गम्भीर चोट लागेकाले उनी आईसीयूमा उपचाररत छन्।




