

वीरगन्ज- वीरगन्जस्थित नारायणी अस्पतालका चिकित्सकहरूले सामूहिक राजीनामा दिएका छन्। अस्पतालमा चिकित्सकमाथि भएको आक्रमण, तोडफोड तथा त्यसपछिको घटनामा प्रशासनले दुर्व्यवहार गरेको आरोप लगाउँदै उनीहरूले प्रमुख जिल्ला अधिकारी (सीडीओ) र जिल्ला प्रहरी प्रमुख (एसपी) को राजीनामासमेत माग गरेका छन्।
अस्पतालमा कार्यरत चिकित्सक डा. उदयनारायण सिंहका अनुसार करिब ७० चिकित्सकमध्ये झण्डै ४० जनाले मेडिकल सुपरिन्टेन्डेन्ट डा. चित्तरञ्जन साहसमक्ष राजीनामा बुझाइसकेका छन् भने बाँकी चिकित्सकको हस्ताक्षर संकलन भइरहेको छ। सबै चिकित्सकले सामूहिक रूपमा राजीनामा दिने तयारीमा रहेको उनले जानकारी दिए।
चिकित्सकहरूको आन्दोलनका कारण नारायणी अस्पतालको आकस्मिक सेवासमेत प्रभावित भएको छ। डा. सिंहका अनुसार स्वास्थ्य मन्त्रालयले आकस्मिक सेवा सञ्चालन गर्न आग्रह गरेपछि चिकित्सकहरू वार्तामा सहभागी हुन तयार भएका थिए।
उनका अनुसार चिकित्सकमाथि आक्रमण गर्ने व्यक्तिलाई पक्राउ गरी कानुनी कारबाही गरिने आश्वासनपछि चिकित्सकहरूको टोली जिल्ला प्रशासन कार्यालय पुगेको थियो। तर, वार्ताका क्रममा वातावरण तनावपूर्ण बनेको र प्रशासनले चिकित्सकप्रति असहज व्यवहार गरेको आरोप उनीहरूको छ।
डा. सिंहले आरोप लगाउँदै भने, “वार्ताका क्रममा दोषीमाथि कारबाही नभए प्रशासनिक नेतृत्वको पनि जिम्मेवारीबारे प्रश्न उठाइने भनिएपछि सीडीओ र एसपी आक्रोशित हुनुभयो। त्यसपछि चिकित्सकहरूलाई प्रहरीको घेरामा राखियो, मोबाइल खोसियो र करिब एक घण्टासम्म नियन्त्रणमा राखियो। यस्तो व्यवहारपछि सुरक्षित वातावरणमा काम गर्न नसकिने निष्कर्षमा पुगेका छौँ।”
उनका अनुसार प्रशासनको व्यवहारप्रति असन्तुष्टि जनाउँदै सरकारी चिकित्सकहरूले सामूहिक राजीनामा दिने निर्णय गरेका हुन्। उनले सीडीओ र एसपी पदमा रहुञ्जेल काममा नफर्किने अडानसमेत दोहोर्याए।
यसैबीच, नेपाल चिकित्सक संघले पनि चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र प्रशासनको व्यवहारको विरोध गर्दै मंगलबार देशभर आकस्मिक सेवाबाहेकका सबै स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेको छ। संघले दोषीलाई तत्काल पक्राउ गरी कडा कानुनी कारबाही गर्न, चिकित्सकका लागि सुरक्षित कार्य वातावरण सुनिश्चित गर्न तथा आवश्यक परे थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने जनाएको छ।
गत साउन ८ गते नारायणी अस्पतालमा डा. प्रमोद राममाथि कुटपिट हुनुका साथै स्वास्थ्यकर्मीमाथि आक्रमण र अस्पतालमा तोडफोड भएको थियो। घाइते डा. रामको हाल काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। उक्त घटनापछि दोषीमाथि कारबाहीको माग गर्दै देशभरका चिकित्सकहरूले ओपीडी सेवा बन्द गरेर आन्दोलन जारी राखेका छन्।



