

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वस्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले कैलालीको गेटा अस्पताललाई कम्तीमा ३०० शय्या क्षमतामा तत्काल सञ्चालनमा ल्याउन सरकारसँग आग्रह गरेका छन्।
आइतबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई प्रभावकारी रूपमा सञ्चालन गर्न गेटा अस्पतालको क्षमता विस्तार पहिलो र अनिवार्य सर्त भएको बताएका हुन्।
पौडेलका अनुसार प्रदेश सरकारले पूर्वस्वीकृति दिइसकेको सेती प्रादेशिक अस्पताललाई गेटा अस्पतालमा गाभेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकै जनशक्ति परिचालन गर्ने व्यवस्था मिलाउन सके न्यून लागतमै अस्पताल सञ्चालन गर्न सकिनेछ।
उनले आफू स्वास्थ्य तथा जनसंख्यामन्त्री रहँदा गेटा अस्पताल सञ्चालन तथा एमबिबिएस अध्ययन सुरु गर्ने उद्देश्यका लागि आर्थिक वर्ष २०८२/८३ को बजेटमै आवश्यक स्रोत सुनिश्चित गरिएको स्मरण गराएका छन्। त्यसबेला केही पक्षबाट वस्तुस्थिति नबुझी विरोध भए पनि अस्पतालको क्षमता विस्तार गर्दै शैक्षिक कार्यक्रम सञ्चालन गर्ने सम्पूर्ण तयारी गरिएको उनको भनाइ छ।
पौडेलले हाल डा. गोविन्द केसीले गेटा अस्पताल शीघ्र सञ्चालनको माग गर्दै थालेको सत्याग्रह पनि अन्ततः दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई सुदृढ र प्रभावकारी बनाउने उद्देश्यसँग जोडिएको बताएका छन्।
उनले विश्वविद्यालयको मेरुदण्डका रूपमा रहेको गेटा अस्पतालको क्षमता विस्तार र सञ्चालन प्रक्रियामा विभिन्न बहानामा अवरोध सिर्जना भइरहेको आरोप लगाउँदै अस्पताललाई तत्काल ३०० शय्या क्षमतामा स्तरोन्नति गरी सञ्चालनमा ल्याउनु नै सबैभन्दा व्यावहारिक समाधान हुने धारणा व्यक्त गरेका छन्।



