

काठमाडौं – स्याकार कम्पनी प्रालिले ग्राण्डी इन्टरनेशनल अस्पताललाई करिब १३ वर्षअघि उपलब्ध गराएको अल्पकालीन सापटीलाई “मिटर ब्याज”सँग जोडेर केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा भइरहेको प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
कम्पनीले विज्ञप्ति जारी गर्दै ग्राण्डी अस्पताल निर्माणाधीन अवस्थामा गम्भीर वित्तीय संकटमा परेको बेला ज्योति समूह २५ प्रतिशत शेयरधनी रहेकाले परियोजनालाई निरन्तरता दिन स्याकार कम्पनी प्रा. लि.सहित ज्योति समूहका विभिन्न कम्पनीहरूले अल्पकालीन वित्तीय सहयोग उपलब्ध गराएको स्पष्ट पारेको छ।
विज्ञप्तिअनुसार स्याकार कम्पनी बैंकिङ वा ऋण प्रवाह गर्ने संस्था नभई उक्त सापटी विशेष परिस्थितिमा अस्पताललाई सहयोगस्वरूप प्रदान गरिएको थियो। कम्पनीले सापटीमा निर्धारण गरिएको १२.५ प्रतिशत वार्षिक ब्याजदर त्यसबेलाको बैंक ब्याजदर ११.५ प्रतिशतभन्दा केवल १ प्रतिशत मात्र बढी रहेको र करसम्बन्धी प्रचलित व्यवस्था पालना गर्न यस्तो व्यवस्था गरिएको जनाएको छ।
अस्पतालले तमसुकअनुसार सापटी फिर्ता नगरेपछि कानुनी हदम्याद समाप्त हुनुअघि आफ्नो अधिकार सुरक्षित गर्न अदालतको शरण लिनुपरेको कम्पनीको भनाइ छ। कम्पनीका अनुसार काठमाडौं जिल्ला अदालत र उच्च अदालत दुवैले उक्त सापटीलाई वैध ठहर गर्दै स्याकार कम्पनीको पक्षमा फैसला गरिसकेका छन्।
दुई तहका अदालतबाट वैध ठहर भइसकेको कारोबारलाई “मिटर ब्याज” भन्दै प्रचार गर्नु तथ्यविपरीत, भ्रामक तथा मानहानिपूर्ण भएको कम्पनीको दाबी छ।
स्याकार कम्पनीले सञ्चारमाध्यमलाई तथ्यको सत्यापन गरेर जिम्मेवारीपूर्वक समाचार सम्प्रेषण गर्न तथा आम नागरिकलाई आधारहीन र भ्रामक प्रचारबाट भ्रमित नहुन आग्रह गरेको छ। साथै, यस्ता झुटा र मानहानिपूर्ण प्रचारप्रसारका सम्बन्धमा आफ्नो सम्पूर्ण कानुनी अधिकार सुरक्षित रहेको पनि कम्पनीले जनाएको छ।



