

वीरगञ्ज- वीरगञ्जस्थित नारायणी अस्पतालमा बिरामीको उपचारका क्रममा मृत्यु भएपछि उत्पन्न विवादले उग्र रूप लिँदा चिकित्सकमाथि सामूहिक कुटपिट भएको छ। घटनामा गम्भीर घाइते भएका मेडिकल अफिसर डा. प्रमोद राम अस्पतालकै आईसीयूमा उपचाररत छन् भने उपचारमा संलग्न उनीसहित पाँच स्वास्थ्यकर्मीलाई छानबिन प्रतिवेदन नआउँदासम्म जिम्मेवारीबाट हटाइएको छ।
शनिबार बिहान मुटुसम्बन्धी गम्भीर समस्या भएका वीरगञ्ज महानगरपालिका–२५ निवासी ४५ वर्षीय राजकुमार पटेललाई आकस्मिक उपचारका लागि नारायणी अस्पताल ल्याइएको थियो। अस्पतालका अनुसार उपचारका सबै प्रयासका बाबजुद बिरामीको कार्डियाक अरेस्टका कारण मृत्यु भएको थियो।
बिरामीको मृत्युपछि आफन्तले उपचारमा लापरबाही भएको आरोप लगाउँदै आकस्मिक कक्षमा तोडफोड गरेका थिए। त्यसक्रममा विवाद शान्त पार्न पुगेका डा. प्रमोद राममाथि ४०–५० जनाको समूहले कुटपिट गरेको आरोप छ। घटनापछि उनी गम्भीर घाइते भई आईसीयूमा उपचाररत छन्।
घटनालगत्तै पर्साका प्रमुख जिल्ला अधिकारी, अस्पताल प्रशासन तथा सरोकारवालाको सर्वपक्षीय बैठकले उपचारमा संलग्न डा. प्रमोद राम, डा. रामकिशोर सिंह, प्रल्हाद प्रसाद, नरेशकुमार चौधरी र आस्था यादवलाई छानबिन प्रतिवेदन नआउँदासम्म कामकाजबाट अलग गर्ने निर्णय गरेको छ।
साथै घटनाको सत्यतथ्य छानबिन गर्न छ सदस्यीय समिति गठन गरिएको छ। समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ। यद्यपि समितिमा सदस्य बनाइएका नारायणी अस्पतालका डा. निरजकुमार सिंहले आफूलाई पूर्वजानकारी वा सहमति बिना नै समितिमा राखिएको भन्दै नेपाल मेडिकल काउन्सिलमार्फत स्वतन्त्र छानबिन हुनुपर्ने धारणा सार्वजनिक गरेका छन्।
यता नेपाल चिकित्सक संघ, नारायणी शाखाले घटनाको कडा निन्दा गर्दै स्वास्थ्यकर्मीमाथि भएको आक्रमणमा संलग्नलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धी ऐनअनुसार कारबाही गर्न माग गरेको छ। संघले अस्पतालमा भएको तोडफोडको क्षति तथा घाइते चिकित्सकको उपचार खर्च आक्रमणकारीबाट असुल गर्न र स्वास्थ्यकर्मीले डर र दबाबबिना सेवा दिन सक्ने वातावरण सुनिश्चित गर्न सरकारसँग आग्रह गरेको छ।



