

काठमाडौं – सरकारले निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियारलाई नियुक्त गरेको छ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार सूचना जारी गर्दै सिफारिस समितिले योग्यताक्रमको पहिलो नम्बरमा सिफारिस गरेका परियारलाई कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय भएको जानकारी दिएको हो।
मन्त्रालयका अनुसार अस्पताल विकास समितिको साउन ४ गते बसेको बैठकको निर्णय र सिफारिस समितिले गरेको मूल्यांकनका आधारमा प्राडा परियारलाई उक्त जिम्मेवारी दिइएको हो।
निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पद रिक्त भएपछि मन्त्रालयले गत असार ५ गते पदपूर्तिका लागि आवेदन आह्वान गरेको थियो। सोही प्रक्रियाबाट छनोट भएका परियारलाई अस्पतालको नेतृत्वको जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ।



