

काठमाडौं- उपभोक्ता अदालतले प्रसूति गराउने क्रममा उपचारमा लापरबाही भएको ठहर गर्दै एभरेस्ट अस्पताल र उपचारमा संलग्न चिकित्सक डा. ज्योत्सना शर्मालाई पीडित परिवारलाई ३९ लाख रुपैयाँ क्षतिपूर्ति दिन आदेश दिएको छ।
बिहीबार न्यायाधीश डा. दिवाकर भट्ट र गेहेन्द्र राज रेग्मीको इजलासले सुवास पराजुलीले दायर गरेको मुद्दामा आंशिक दाबी स्वीकार गर्दै यस्तो फैसला गरेको हो। अदालतका सूचना अधिकारी होमनाथ कंडेलका अनुसार एभरेस्ट अस्पतालले ३० लाख रुपैयाँ र डा. शर्माले व्यक्तिगत रूपमा ९ लाख रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने निर्णय भएको हो।
सुवास पराजुलीले आफ्नी श्रीमतीको प्रसूति गराउने क्रममा डा. शर्माको लापरबाहीका कारण मृत्यु भएको दाबी गर्दै पाँच करोड रुपैयाँ क्षतिपूर्तिको मागसहित २०८२ जेठ २५ गते उपभोक्ता अदालतमा मुद्दा दायर गरेका थिए।
अदालतले उपचार प्रक्रियामा कमी–कमजोरी देखिएको निष्कर्ष निकाल्दै पीडितको दाबी आंशिक रूपमा स्वीकार गरेको सूचना अधिकारी कंडेलले बताए।
करिब एक वर्षसम्म सुनुवाइ चलेपछि उपभोक्ता अदालतले अस्पताल र चिकित्सक दुवैलाई क्षतिपूर्ति तिर्न आदेश दिएको हो।


