

काठमाडौं- मनसुन सक्रिय भएसँगै नेपालमा हैजा, झाडापखाला, टाइफाइडलगायत पानीजन्य रोगको जोखिम बढेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नागरिकलाई सतर्क रहन आग्रह गरेको छ। पछिल्ला साताहरूमा देशभरका स्वास्थ्य संस्थामा झाडापखालाका बिरामीको संख्या उल्लेखनीय रूपमा बढेको मन्त्रालयले जनाएको छ।
रोग नियन्त्रण तथा महामारी विज्ञान महाशाखाका अनुसार वर्षायाममा दूषित पानी र अस्वच्छ खानाका कारण हैजा र अन्य आन्द्राजन्य संक्रमण तीव्र रूपमा फैलिने जोखिम हुन्छ। पछिल्ला तीन साताको निगरानीमा क्रमशः ७२०, ७६२ र ७१८ भन्दा बढी झाडापखालाका बिरामी स्वास्थ्य संस्थामा पुगेका छन्।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार हैजा भिब्रियो कोलेरी नामक जीवाणुबाट हुने तीव्र झाडापखालाको रोग हो। समयमै उपचार नपाए शरीरमा पानी र लवणको मात्रा अत्यधिक घट्ने, रक्तचाप कम हुने र ज्यानसमेत जोखिममा पर्न सक्ने उनले बताए। समयमै जीवनजल (ओआरएस), पर्याप्त तरल पदार्थ र आवश्यक उपचार पाए अधिकांश बिरामी निको हुने उनको भनाइ छ।
स्वास्थ्य मन्त्रालयका अनुसार विगतमा काठमाडौं, ललितपुर, कैलाली, रुपन्देही र प्युठानलगायत जिल्लामा हैजाको प्रकोप देखिएको थियो। ती घटनामा दूषित खानेपानी नै संक्रमणको मुख्य स्रोत बनेको निष्कर्ष निकालिएको थियो। यस वर्ष पनि जोखिमयुक्त क्षेत्रमा निगरानी, खानेपानी परीक्षण र जनचेतना अभियानलाई तीव्र बनाइएको मन्त्रालयले जनाएको छ।
विशेषज्ञहरूले उमालेर वा क्लोरिन प्रयोग गरी शुद्ध बनाएको पानी मात्र पिउन, खाना राम्रोसँग पकाएर खान, फलफूल तथा तरकारी सफा पानीले धोएर प्रयोग गर्न तथा खुला स्थानमा बेचिने अस्वच्छ खाना नखान आग्रह गरेका छन्।
त्यस्तै शौचालय प्रयोग गरेपछि, खाना पकाउनुअघि, खाना खानुअघि र बालबालिकालाई खाना खुवाउनुअघि साबुनपानीले कम्तीमा २० सेकेन्डसम्म हात धुन पनि सुझाव दिइएको छ। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला र दीर्घरोगीमा संक्रमणको जोखिम बढी हुने भएकाले उनीहरूको विशेष हेरचाह गर्न चिकित्सकहरूले आग्रह गरेका छन्।
बारम्बार पानीजस्तो पखाला, बान्ता, अत्यधिक तिर्खा लाग्ने, आँखा गाडिने, कमजोरी हुने वा पिसाब कम हुने लक्षण देखिए तत्काल स्वास्थ्य संस्थामा पुग्न स्वास्थ्यकर्मीले अनुरोध गरेका छन्। मन्त्रालयका अनुसार सुरक्षित पानी, स्वच्छ खाना, सरसफाइ र समयमै उपचार नै पानीजन्य रोगबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय हुन्।



