

काठमाडौं- भक्तपुरमा सुविधा सम्पन्न स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यसहित नागरिक कम्युनिटी टिचिङ अस्पतालले साढे २ अर्ब रुपैयाँभन्दा बढी लगानीमा आफ्नै अत्याधुनिक भवन निर्माण सुरु गरेको छ।
अस्पतालका अध्यक्ष रामशरण (आरएस) भण्डारीका अनुसार भवन निर्माणमा करिब १ अर्ब रुपैयाँ र अत्याधुनिक स्वास्थ्य उपकरण तथा प्रविधि जडानका लागि थप १ अर्ब ५० करोड रुपैयाँभन्दा बढी लगानी गरिनेछ। असार १८ गते शिलान्यास गरिएको भवनको निर्माण कार्य अहिले तीव्र रूपमा अघि बढिरहेको उनले जानकारी दिए।
भक्तपुरको गठ्ठाघरस्थित ७ रोपनी क्षेत्रफलमा निर्माण हुने ११ तले अस्पताल भवन करिब १ लाख २२ हजार वर्गफिट क्षेत्रफलमा फैलिनेछ। भवनमा हेलिप्याडको समेत व्यवस्था हुनेछ। निर्माण सम्पन्न भएपछि यो अस्पताल हाल सञ्चालनमा रहेको ह्याम्स अस्पतालभन्दा ठूलो हुने बताइएको छ।
ह्याम्स ग्रुपको ६६ प्रतिशत तथा अन्य ५१८ जना सेयरधनीको संयुक्त लगानी रहेको अस्पतालको नयाँ भवनबाट एक वर्षभित्र सेवा सुरु गर्ने लक्ष्य राखिएको छ। पहिलो चरणमा १०० शैयाबाट सेवा सञ्चालन गरिनेछ भने क्रमशः विस्तार गर्दै २५० शैयासम्म पुर्याइने योजना छ।
अध्यक्ष भण्डारीका अनुसार काठमाडौं र ललितपुरको तुलनामा भक्तपुरमा सुविधा सम्पन्न ठूलो अस्पतालको अभाव भएकाले स्थानीयलाई आफ्नै जिल्लामा गुणस्तरीय उपचार उपलब्ध गराउने उद्देश्यले यो परियोजना अघि बढाइएको हो। यसबाट उपचारका लागि काठमाडौं वा ललितपुर धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।
अस्पतालले आगामी तीन वर्षभित्र सेवा विस्तार गरी २०० भन्दा बढी शैयासहित सञ्चालन गर्ने र करिब १२०० जनालाई प्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको छ। हाल अस्पतालमा २७० कर्मचारी कार्यरत छन् भने नयाँ भवनबाट सेवा सुरु भएसँगै प्रारम्भिक चरणमै करिब ५०० जनाले रोजगारी पाउनेछन्।
नयाँ भवन सञ्चालनमा आएपछि स्त्री तथा प्रसूति रोग सेवा, अत्याधुनिक एनआईसीयू, ट्रमा व्यवस्थापन, क्याथल्याबसहित मुटुरोग उपचार तथा डायलाइसिस सेवालाई विशेष प्राथमिकताका साथ सञ्चालन गरिने अस्पतालले जनाएको छ।


