

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले लामो समयसम्म कार्यालयमा अनुपस्थित रहेका २३ जना स्वास्थ्यकर्मीलाई सेवाबाट हटाउने प्रक्रिया अघि बढाएको छ।
मन्त्रालयले बिहीबार सार्वजनिक सूचना जारी गर्दै बिदा स्वीकृत नगरी लगातार ६० दिनसम्म कार्यस्थलमा अनुपस्थित रहेका २३ कर्मचारीलाई स्पष्टीकरण पेस गर्न १५ दिनको समय दिएको जनाएको हो। तोकिएको अवधिभित्र चित्तबुझ्दो सफाइ पेस नगरे उनीहरूलाई प्रचलित कानुनअनुसार सेवाबाट बर्खास्त गरिने मन्त्रालयले स्पष्ट गरेको छ।
सेवाबाट हटाउने तयारी गरिएका कर्मचारीहरू वीर अस्पताल, कान्ति बाल अस्पताल, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र भक्तपुर, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु तथा आयुर्वेद चिकित्सालय नरदेवीमा कार्यरत रहेका थिए।
मन्त्रालयका अनुसार नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ७४ को उपदफा (१) अनुसार बिदा स्वीकृत नगराई लगातार ६० दिनसम्म कार्यालयमा अनुपस्थित रहने कर्मचारीलाई सेवाबाट हटाउने कानुनी व्यवस्था छ।




