

काठमाडौं – काठमाडौंका दुई अस्पतालमा उपचारका लागि पुगेका दुई जनामा हैजाको शंका देखिएपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले निगरानी बढाएको छ।
महाशाखाका अनुसार मंगलबार सशस्त्र प्रहरी बल अस्पताल, बलम्बुमा पुगेका एक जना र सोमबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु) मा उपचारका लागि पुगेका अर्का एक जनामा आरडीटी (र्यापिड डाइग्नोस्टिक टेस्ट) मार्फत हैजाको प्रारम्भिक संकेत देखिएको हो। दुवै बिरामी झाडापखाला र बान्ताको समस्या लिएर अस्पताल पुगेका थिए।
रोग निगरानी शाखाका प्रमुख हेमराज पाण्डेका अनुसार उनीहरूको नमूनाको कल्चर परीक्षण भइरहेको छ र रिपोर्ट आउन करिब ४८ घण्टा लाग्नेछ। उनले आरडीटीको नतिजामात्रका आधारमा हैजा पुष्टि गर्न नमिल्ने भएकाले अन्तिम निष्कर्ष कल्चर रिपोर्टपछि मात्रै आउने बताए।
महाशाखाले उपत्यकाका सबै स्वास्थ्य संस्थालाई हैजाका लक्षण भएका बिरामी भेटिए तत्काल जानकारी गराउन आग्रह गरेको छ। महाशाखाका प्रमुख डा. अनुज भट्टचनका अनुसार सम्भावित प्रकोप व्यवस्थापनका लागि आवश्यक औषधि, आरडीटी किट तथा अन्य सामग्री पर्याप्त मात्रामा तयारी अवस्थामा राखिएको छ।
यसअघि काठमाडौंकै सिभिल अस्पतालमा उपचारका लागि पुगेका एक बिरामीमा पनि हैजा पुष्टि भएको थियो। यस्तै, मनसुन सुरु भएयता मोरङको विराटनगर र बझाङमा पनि एक–एक जनामा हैजाको संक्रमण पुष्टि भइसकेको छ।
महाशाखाको तथ्यांकअनुसार सन् २०२६ मा हालसम्म देशभर ४४ जना शंकास्पद हैजाका बिरामी र ३ हजार ६३२ जना झाडापखालाका बिरामी दर्ता भएका छन्।


